मानिसले गर्ने हरेक क्रियाकलापको सीमा हुन्छ। सीमा नाघ्नु अति हो, अति भए खति हुन्छ र त्यसले दुर्गति निम्त्याउँछ। सुन्दर देखिनका लागि आवश्यक मात्रामा अङ्गप्रदर्शन गर्नुपर्ने फेशन विज्ञहरूको मत छ। यसरी अङ्गप्रदर्शन गर्दा पनि त्यसको परिधि, सीमा, मूल्य–मान्यताहरू छन्। जङ्गली युगमा पनि बोक्रा र पातले ढाकेर बचाएका लाजहरूलाई अहिले पनि ढाक्नै पर्छ। अङ्गप्रदर्शनको नाममा ढाक्न पर्ने अङ्गहरू ढाकिएन भने सुन्दर होइन, घीनलाग्दो, कुरूप देखिन्छ। अनि ऊ घृणा र हाँसोका पात्रमा रूपान्तरित हुन्छ। संसारका प्राणीहरूमध्ये मानवजाति नै त्यस्तो प्राणी हो, जसलाई लाज र नैतिकताले सिङ्गारेको हुन्छ। यसको मर्यादालाई जति बचाउन सके, त्यति नै असल मानिन्छ र उसको लागि सामाजिक वातावरण चौतर्फीरूपमा सहज बनिदिन्छ।
राजनीति मानवजीवनको महत्वपूर्ण पाटो हो। राज्यमा बस्ने कुनै पनि नागरिक प्रत्यक्ष वा परोक्षरूपमा राजनीतिसँग जोडिएका हुन्छन्। राजनीति मानव समाजको महत्वपूर्ण विज्ञान हो। मानव सभ्यता तथा सामाजिक विकासको मार्गचित्र राजनीतिले गर्छ। अतः राज्य सञ्चालनको नीति अर्थात् राजनीतिको स्वरूप सही भए समाजको अग्रगति र खराब भए दुर्गति बेहोर्नुपर्छ। यसर्थ राजनीतिलाई बुझ्न र त्यसको मर्यादा एवं परिधिभित्र रहेर नैतिकवान्रूपमा प्रस्तुत हुन जरुरी छ। झन्डा बोकेर जिन्दाबाद र मुर्दाबाद भन्दै हिंड्नु वा हिंडाउन सक्नु मात्रै राजनीति होइन। निष्पक्ष रही असल र खराब पहिचान गरेर मतदान गर्नु झन् राजनीतिको महत्वपूर्ण पाटो हो। मतदाताको मताधिकारबाट राज्य सञ्चालनको जिम्मेवार तहमा पुगिने हो। चोर पुगून् या साधु लोकतान्त्रिक पद्धतिमा त्यसको जिम्मेवार पक्ष मतदाता नै हुन्। लोकतान्त्रिक शासन पद्धतिमा सरकार जनप्रतिनिधिको मातहत र जनप्रतिनिधि मतदाताको मातहत हुन्छन्। तर आवधिक चुनाव हुने भएकाले एक अवधिदेखि अर्को अवधिसम्मको लागि मतदाताले जनप्रतिनिधि वा राजनीतिक दललाई वारेस मानेर अधिकार सुम्पेका हुन्छन्। यसरी तालाचाबी सुम्पिएर वारेस बनाइएकाहरूमा न्यूनतम लाज र नैतिकता हुनै पर्छ। अन्यथा मतदाताले दुःख पाउनु त छँदैछ, त्यस्ता धोखेबाज प्रतिनिधिको पनि दुर्गति निश्चित छ।
हाम्रो मुलुकका राजनीतिक दल र तिनका नेताहरूले राजनीतिलाई समाज विज्ञानको रूपमा भन्दा पनि फोहोरी खेलको रूपमा प्रयोग गरिरहेका छन्। दलका नेता तथा जनप्रतिनिधिहरू प्रधानमन्त्री केपीशर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको शब्दमा भन्ने हो भने ‘नाटक र नौटङ्की’ मा व्यस्त छन्। राज्य सञ्चालनको असल नीतितर्फभन्दा पनि एउटाले अर्कोलाई सिध्याउने व्यक्तिगत, नातागत, समूहगत स्वार्थको कपट नीतितर्फ उद्धत् छन्। उद्धाहरणका लागि, मर्यादाको सीमा नाघेर गालीगलौज, खुट्टा टोकाटोकमा उत्रिएका सत्तारूढ नेकपा र तिनका नेताहरूको दुर्र्गति शुरू भइसकेको छ। केही पहिले गला मिलाएका प्रचण्ड र ओली लात हानाहान गर्दा उछिटिएर दुईतिर पुगे। हिजो भर्खर एकले अर्कालाई सर्वाङ्ग पारेका ओली र नेपाल फेरि लाजै पचाएर एकले अर्कोलाई सलाम गर्नुपर्ने अवस्थामा पुगेका छन्। राजनीतिमा जे पनि हुन्छ भन्ने होइन। असल राजनीतिमा यस्तो अवस्था आउनुहुँदैन। यो त फोहोरी राजनीतिको
उपज हो। हिजो उनीहरूले स्वस्थ प्रतिस्पर्धा गरेर मर्यादा बचाएको भए आज कुरूप अवस्था देख्नुपर्ने र लाजले झुक्नुपर्ने थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here