प्रस, निजगढ, २१ फागुन/
रेलमार्ग निर्माणको लागि रोकिएको सर्भे कार्य शुक्रवारबाट पुनः सुचारु भएको छ। बकैया खोला किनार ड्यामको पूर्वी किनारलाई समाउँदै रेलमार्ग लैजाँदा मानवबस्ती, निजी खेतीयोग्य जमीन नपर्ने, तटबन्धको दीर्घकालीन समस्यासमेत समाधान हुने गरी रेलमार्ग लैजाँदा उपयुक्त हुने भन्दै सर्भे कार्य सुचारु गरिएको हो।
यसअघि मानवबस्ती, खेतीयोग्य जमीनबीचबाट कोही कसैलाई जानकारी नै नदिई सर्भे गरेसँगै स्थानीयहरूले अवरोध गर्दै रोकेका थिए। त्यसपछि रेल विभाग काठमाडौंका महानिर्देशक प्रमिला बज्राचार्य, रेलमार्गका लागि युसिङ कोरियन सर्भे कन्सल्ट्यान्टका मुख्य सर्वेयर मिस्टर कु, मिस्टर सोन, रेल विभागका सिनियर डिभिजन इन्जिनीयर देवेन्द्रप्रसाद साह, नेपाली सर्भे कन्सल्ट्यान्टका जियोलोजिस्ट अच्युत कोइरालासहितको प्राविधिक टोलीले निजगढको बकैया खोलाको पूर्वीतर्फको क्षेत्रको स्थलगत अनुगमन गत फागुन ९ गते गरेको थियो।सो अनुगमनमा निजगढका प्रमुख सुरेशकुमार खनाल, रेलमार्ग पीडित सरोकार समिति निजगढका पदाधिकारी, स्थानीयसमेत थिए। स्थलगत अनुगमन गर्नुअघि निजगढ नपामा भएको सो टोलीसँगको छलफलमा बकैया खोलापारि पश्चिम किनारलाई पहिलो प्राथमिकतामा राखी सर्भे गर्ने भनिए पनि कुनै हानिनोक्सानी नहुने भन्दै बकैया खोलाको पूर्वी किनारबाट सर्भे गर्दा कुनै समस्या देखिए पारिबाट गर्ने सरकारी र कन्सल्टेन्सी टोलीले बताएपछि अहिले रोकिएको सर्भे थालिएको हो।
निजगढ नगरपालिकामा भएको सहमति अनुसार नै रेलमार्ग लैजाने गरी सर्भे भएको टोलीका इन्चार्ज सुरज पौडेलले बताए।
निजगढमा स्थानीयहरूले रेलमार्ग पीडित सरोकार समिति नै गठन गरी सम्बन्धित रेल विभाग, प्रशासन कार्यालय, स्थानीय तह निजगढ नगरपालिकालाई समेत ज्ञापनपत्र बुझाइसकेको छ। राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गतको रौतहटको चोंचासम्म ठेक्का लगाइसकेको छ। निजगढ–हेटौंडा–भरतपुर लैजाने गरी सर्भे कार्य गरिने रेल विभागले जनाएको छ। सो सर्भे कार्यका लागि निजगढ नपाको तर्फबाट दुईजना प्राविधिक खटाइएको छ। रेलमार्गको लागि कम्तीमा पनि ५० मिटर चौडाइको भूभाग आवश्यक पर्ने र ३५० मिटर दायाँ–बायाँको क्षेत्रलाई समेटी सर्भे गर्नुपर्ने जनाइएको छ।