प्रस, रौतहट, १७ फागुन/
गढीमाई नगरपालिकाले शिक्षकहरूलाई आगामी असार महीनासम्मको अग्रिम तलब दिएको छ।
नगरपालिकातर्फबाट स्वास्थ्य सेवा, पशु सेवा र आयुर्वेद सेवामा कार्यरत स्थायी कर्मचारीलाई फागुन मसान्तसम्मको र शिक्षकहरूलाई २०७८ असार महीनासम्मको एकमुस्ट तलब खातामैं राखिएको लेखापाल कामेश्वर सहनीले जानकारी दिए। उनले शिक्षकहरूको मनोबल बढाउन चार महीनाको तलब अग्रिम भुक्तानी गरिएको बताए। प्रत्येक महीना तलब दिनुपर्ने भएपनि नगरपालिकाले आफ्ना शिक्षकहरूलाई आगामी असार महीनासम्मको रकम अहिले नै खातामा पठाएको लेखापाल सहनीले बताए। स्थानीय सरकारको अभ्यास प्रारम्भ भएको बेला कर्मचारी र शिक्षकहरूलाई सरकारको अनुभूति गराउन यस्तो गरिएको उनले बताए।
रौतहटमा निर्वाचित जनप्रतिनिधिहरूबीचको आन्तरिक विवादका कारण अधिकांश स्थानीय तहका कर्मचारीहरूले तलबभत्ता समयमैं पाउँदैनन्। गुजरा, फतुवाविजयपुर, राजदेवी नगरपालिकामा तलब लिन कर्मचारीहरूले आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको थियो। काम गर्ने तर तलब समयमैं नपाउने अवस्थाले कर्मचारीहरूको मनोबल खस्किंदै गएको छ। यस्तो झन्झटबाट छुटकारा पाउन गढीमाई नगरपालिकाले अघिल्लो चार महीनाको शिक्षकहरूको तलब खातामा पठाएको लेखापाल सहनीले जानकारी गराए।