धर्मेन्द्र चौरसिया, पोखरिया, १६ फागुन/
पर्सा जिल्लाको केन्द्रबिन्दुमा रहेको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पतालको व्यवस्थापन पक्ष कमजोर हुँदा सो भेगका हजारौं सेवाग्राहीले प्रभावकारी सेवा पाइरहेका छैनन्।
अस्पताल विकास समितिले एकातिर अस्पताल व्यवस्थापनमा चासो दिएको छैन भने अर्कोतिर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवको लापरवाहीका कारण अस्पताल अहिले स्वास्थ्य चौकीजस्तै सञ्चालन भइरहेको छ। आवश्यक दक्ष जनशक्ति हुँदा पनि बिरामीहरूले अस्पतालबाट गुणस्तरीय र प्रभावकारी सेवा नपाएका छैनन्। अस्पतालमा ६ जना चिकित्सक छन्, उनीहरूले दैनिक सेवा दिनुपर्नेमा ६ दिनको लागि आलोपालो ड्युटी मिलाएका छन्। पोखरिया अस्पतालमा मेसु डा अनिल यादवलगायत डा विनयकुमार यादव, डा सञ्जय गुप्ता, डा दीपेन्द्र मण्डल, डा मृगेन्द्रसिंह यादव, डा सुरेन्द्र यादव गरी ६ जना चिकित्सक नियुक्त छन् भने दुईजना स्टाफ नर्स, सरकारबाट दुईजना अहेब र अस्पताल विकास समितिबाट पाँचजना अहेब, सरकारीबाट दुईजना अनमी र अस्पताल विकास समितिबाट पाँचजना अनमी गरी कार्यालय सहयोगीको दरबन्दी छ। आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी हुँदा पनि एक दिनमा एकजना चिकित्सकले मात्र चेकजाँच गर्दा बिरामीहरू घण्टौंसम्म पालो पर्खनुपर्ने तथा अनुभवी चिकित्सक नआएको दिन नयाँ चिकित्सकबाट राम्रो उपचार नपाउने गरेको बिरामीहरूको गुनासो छ।
पोखरिया अस्पतालमा दैनिक सयदेखि डेढ सयजना बिरामी आउने गरेका छन्। अस्पतालको सेवा खस्किंदै गएपछि अहिले दैनिक करीब पचासजना बिरामी आउने गरेका छन्। ती पचासजना बिरामीलाई एकजना चिकित्सकले चेकजाँच गर्दा दिन बित्छ। पोखरियावासीले अस्पतालको सेवा यस्तै रहने हो भने अस्पताल बन्द गर्न पोखरिया नगरपालिकासँग आग्रह गरेका छन्।
यस विषयमा अस्पताल विकास समितिका अध्यक्ष एवं पोखरिया वडा नं ४ का अध्यक्ष लक्ष्मणसाह कानूले भोलि सोमवार अस्पतालका मेसु डा यादवलाई बोलाएको र उनीसँग अस्पतालसम्बन्धी गुनासाबारे सोधपूछ गर्ने बताए। चिकित्सकको लापरवाही देखिए उनीहरूलाई कारबाई गर्ने चेतावनी उनले दिए। यता, अस्पतालका मेसु डा यादवले दैनिक बिरामीको सङ्ख्या घटेकाले केही चिकित्सक अनुपस्थित रहने गरेको प्रतिक्रिया दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here