सञ्जय साह मित्र
अस्पतालहरू सडक छेउमा वा बजार क्षेत्रमा बढी सीमित हुने कारणमध्ये सवारी दुर्घटनाका बिरामी अस्पताल आउँछन् भनेर पनि हो।
एकजना मित्रको यस्तो अभिव्यक्तिले धेरै कुरातर्फ सङ्केत गरेको देखिन्छ। अस्पतालहरू खुलेका छन्, अस्पतालहरू सडकछेउ खुलेका छन्, सडकहरू बढेका छन्, बजार क्षेत्रमा अस्पतालहरू बढी छन् तथा यी सबै अस्पतालमा बिरामीको चाप बढेको छ र अधिकांश अस्पतालमा सडक दुर्घटनाका बिरामीहरू आउँछन्।
सडकहरू बढेका छन्। पहिलेको तुलनामा हरेक वर्ष सडक बढ्दै गएको सत्य हो। सडकको विस्तार पनि भएको छ। सडक विस्तारले सुविधा बढाएको हो। सडक जति बढेको छ, त्योभन्दा बढी सडकमा सवारीको चाप बढेको छ। सवारीको बढ्दो चापले गर्दा सडकलाई फुर्सद हुने अवस्था देखिंदैन। सडकमा सवारीको चाप निरन्तर बढिरहेको छ। हाम्रो सडकले कति सवारी साधन थेग्न सक्छ ? यस्ता विषयमा कसैलाई सोच्ने फुर्सद नै छैन।
सडक दुर्घटना बढेको छ। वास्तवमा सडक दुर्घटना निकै बढेको छ। सडकमा सवारीको चाप अत्यधिक बढेको तर सडकको स्तर नबढेको सबैले देखेका छन्। सडक निर्माणको अवधारणा नै परम्परागत भएको बताइन्छ। नयाँ बनाइएका सडकहरू दुई दशक पहिलेको गाडीको आधारमा बनाइएको छ। जबकि दुई दशकपछि कति सवारी साधन बढ्छ र तिनको भार कसरी थेग्न सकिएला भन्ने सोच आवश्यक छ। यस कारण जहिले पनि वर्तमान आवश्यकता पूरा गरेर रमाउने गरी सडक बनाएको आरोप लाग्ने गरेको छ।
सडकमा अत्यधिक दुर्घटना कहाँ हुन्छ ? कस्तो ठाउँमा हुन्छ ? कसरी हुन्छ ? यी प्रश्नहरूको उत्तरको खोजी गरिनु आवश्यक छ। हाम्रा सडकहरू दुई तीन दशक पहिलेको सोच अनुरूपका छन्। पहिलेको तुलनामा सवारी चाप अत्यधिक बढिसकेको छ तर सडक उहीं छ। अधिकांश सडक पार गर्ने सडकहरू सोझा वा सीधा छन्। कुनै पनि सडकले सीधै अर्को सडकलाई काटेको देखिन्छ। यसरी सीधै काट्दा दुर्घटना हुने डर बढी हुन्छ। यसैगरी सडक साँघुरो भए पनि दुईतर्फी चल्ने किसिमका छन्। एकतर्फी सडक ज्यादै कम छन्। एकतर्फी सडक हुने हो भने सवारी साधन एकातर्फबाट मात्र आउने हुन्छ र अगाडिबाट ठक्कर लाग्ने सम्भावना कम हुन्छ। पछाडिबाट ठोकिने डर पनि कम किन हुन्छ भने सवारी चालकले आफूभन्दा अगाडि मात्र ध्यान केन्द्रित गरेका हुन्छन् जसले गर्दा अगाडिको सवारी साधन कति दूरीमा छ, त्यो कुन गतिमा चलिरहेको छ भन्ने कुरा थाहा हुन्छ। सवारी साधन बढी दुर्घटना हुने ठाउँ अत्यधिक मोड हो र मोडमा सडक सुरक्षा नहुनु वा सडक खुला हुनु पनि हो। यसैगरी सडक बढी बिग्रे– भत्केको तथा किनार नछुट्टिने ठाउँमा पनि दुर्घटना हुन्छ। सडकको तुलनामा नदी, खोल्सी वा अन्यत्र बनाइएका पुलहरू प्रायः साँघुरो हुनु, सडक कतै अग्लो र कतै होचो हुनु तथा दुर्घटना भइरहने ठाउँमा सङ्केत चिह्न नराखिनु पनि दुर्घटनाको कारण बन्न सक्छ। सवारी दुर्घटना सडकको कारणले मात्र हुन्छ भन्ने होइन, तर सडक व्यवस्थित नहुँदा दुर्घटना बढी हुन्छ भन्ने कुरो यथार्थ हो।सवारी साधन चलाउने मानिसको मनस्थिति पनि पनि सवारी दुर्घटनाको एउटा कारण हो। तीव्र गतिमा सवारी चलाउने मानिस छ भने दुर्घटनाको सम्भावना बढी हुन्छ। यसैगरी मदिरा वा लागू पदार्थ सेवन गरी सवारी चलाउँदा बढी दुर्घटना हुन्छ। एफएम रेडियो सुन्दै गाडी चलाउनु, मोबाइलमा कुराकानी गर्दै गाडी चलाउनु, बाइक चलाउँदै अर्को बाइक चलाउनेसित कुराकानी गर्नु, मन पर्ने गीतमा अत्यधिक मग्न भएर गाडी चलाउनु, एकातिर हेर्दै अर्कोतिर गाडी हाँक्नु तथा कुनै दृश्यप्रति अत्यधिक लोभिनु आदि कारणले पनि सडक दुर्घटना निम्तिएको देखिएको छ। यसैगरी सडक तथा सवारी साधनको अवस्थाको ख्याल नगरी सवारी साधन चलाउँदा पनि दुर्घटना भएको पाइएको छ। ट्राफिक नियमको पालन नगर्ने तथा लापरवाही गर्नेहरूले पनि सवारी दुर्घटना बढाएका छन्।
सडक र सवारी चालकका कारण त सवारी दुर्घटना भएका हुन्छन् नै। यी दुईबाहेक पनि सवारी दुर्घटना हुने अन्य कारणहरू पाइएको छ। सडकको छेउमा दाउरा तथा पराल राख्नु, सडकमैं बिस्कुन सुकाउनु, सडकमा छाडा पशु छाड्नु, सडकमा बालबालिकालाई खेल्न दिनु पनि दुर्घटनाका कारण हुन्। कहिलेकाहीं मानिसले सडकमा पानी खन्याउँछन्, हिलो वा माटो राख्छन्, कहिलेकाहीं ट्याक्टरबाट माटो वा बालुवा वा गिट्टी निरन्तर सडकमा झरिरहेको हुन्छ, यसले गर्दा पनि दुर्घटना भएको हुन्छ। राति सामुन्नेबाट अर्को गाडी आउँदा हेड लाइटलाई डिम नगर्नु, कम ठाउँ भए पनि जबरजस्ती सवारी साधन लैजान खोज्नु, साँघुरो ठाउँमा ओभरटेक गर्नु, सानो गाडीलाई ठूला सवारी साधनले महत्व नदिनु र अनुभव नभएकाहरूले अत्यधिक जोखिम मोलेर सवारी साधन चलाउँदा पनि दुर्घटना भएको पाइएको छ।
अत्यधिक सवारी दुर्घटनाले दैनिक मानिसको अङ्गभङ्ग हुने, चोटपटक लाग्ने, घाइते हुने तथा मृत्युसमेत भइरहेको छ। कतिपय मानिस त सदाको लागि अपाङ्ग बन्छन्। सवारी दुर्घटनाले जनधनको क्षति भएको पाइएको छ।
सडक दुर्घटना न्यूनीकरण अत्यावश्यक छ। जतिसुकै राम्रो सडक भए पनि सवारी साधनको चाप तथा सवारी चालकले लापरवाही ग–यो कि दुर्घटना हुन्छ, तर सडक पनि दुर्घटनाको कारण भएकोले यसको सुधार तथा विस्तार हुनु आवश्यक छ। हाम्रा सडकहरू अति साँघुरा छन् जसको विस्तार आवश्यक छ। सडकलाई सकेसम्म बस्तीभन्दा टाढा राख्नु उचित हुन्छ तर हाम्रो सन्दर्भमा लामो दूरीका ठूला सडक पनि मूल शहर भएरै जान्छ। यस अवस्थामा सडकलाई एकतर्फी बनाउनु आवश्यक हुन्छ। ठूला सडकले अर्को सडक सीधै क्रस गर्नु नपर्नेगरी व्यवस्थापन गर्नु आवश्यक छ। कम्तीमा घुमेर मूल सडकमा प्रवेश गर्नुपर्ने वा मूल सडकबाट अर्को सहायक सडकमा निस्कँदा पनि यस्तै मूल सडकलाई असर नपर्नेगरी व्यवस्थापन गरिनुपर्छ। सडक त फराकिलो हुनैपर्दछ र सडकमा खाल्डाखुल्डी देखिनासाथ मरम्मत गरिनु पर्छ। सकेसम्म सडक उच्च गुणस्तरको कालोपत्रे राम्रो हुन्छ।
अत्यन्त तिखो मोडमा पूर्णतया सुरक्षित सडक हुनुपर्दछ। सडकको छेउमा खाल्डो छ भने कुनै पनि सवारी साधन खाल्डोमा झर्न नपाउनेगरी सडकको किनार व्यवस्थित हुनुपर्दछ। मोडलाई अझ बढी फराकिलो बनाउनु पर्दछ। धेरै दुर्घटना हुने क्षेत्रबारे व्यापक छलफल गर्नुपर्छ। दुर्घटनाको कारण पत्ता लगाएर निवारण गरिनुपर्छ। सडकबारे सर्वसाधारणलाई जानकारी दिइरहनु पनि आवश्यक हुन्छ। कहाँ सडक बिग्रेको छ भन्ने विषयमा होर्डिङ बोर्डहरू बनाएर राखिनुपर्छ।
सवारी साधन दुर्घटनाले पर्ने नकारात्मक असर के के हुन् ? सवारी दुर्घटना भएपछि दुर्घटनामा परेका मानिसको घरपरिवारमा दीर्घकालसम्म के कस्तो प्रभाव देखिन्छ ? यी र यस्ता विषयमा पनि प्रभावकारी अध्ययन गरी सार्वजनिक गरिनुपर्छ, जसले गर्दा सवारी चालक सचेत हुन्छ। सवारी साधन चलाउँदा ट्राफिक नियम नमान्नेहरूलाई जरिवाना गर्ने मात्र नभई तिनलाई सम्झाइबुझाई पनि गर्नुपर्दछ। सम्झाइबुझाइ गर्ने सोही दिन मात्र हो भन्ने होइन। उसलाई एउटा निश्चित पूर्जी दिएर कुनै दिन निश्चित समयमा आइपुग्ने गरी बोलाउनुपर्दछ। बोलाइएको दिन र तोकिएको समयमा उपस्थित नभए तिनको घरमा प्रहरी पु–याएर बोलाई आर्थिक तथा सम्झाइबुझाइ गर्ने गरी दुवै किसिमको जरिवाना गर्नुपर्छ। यसले गर्दा कारबाई मानव अधिकारमैत्री हुन्छ। दिनानुदिन सवारी साधनको चाप बढिरहेकोले सवारी व्यवस्थापन सम्भव भएसम्म दुर्घटना नहुने किसिमले व्यवस्थापन गरिनुपर्छ। सवारी साधन दुर्घटनाले भारी मात्रामा जनधनको क्षति पु–याउने र दीर्घकालसम्म असर पनि पार्ने भएकोले यसप्रति सम्भव भएसम्म सबै पक्ष गम्भीर हुुनु आवश्यक ।