प्रस, वीरगंज, ११ फागुन/
कोरोनाको समयमा लुकेर बसेका पर्सा जिल्लाका एम्बुलेन्सहरू अहिले पुनः बिरामी अपहरण कार्यमा सक्रिय भएका छन्।
उनीहरूले बिरामी र कुरुवाहरूको चाहनाविपरीत विभिन्न निजी अस्पतालमा पठाउने र आफ्नो कमिशन सुरक्षित गर्दै आएका छन्। निजी अस्पतालहरूले बिरामी ल्याएबापत कमिशन तय गरेका हुनाले सडक दुर्घटना, कुटपिट, गर्भवतीलगायतलाई एम्बुलेन्स चालकहरूले आफ्नो कमिशन सुविधा अनुकूल निजी अस्पतालहरूमा पु–याउने गरेका छन्। बिरामी र कुरुवाहरूले भने मुताबिक अस्पतालमा लानुको साटो उनीहरूले विभिन्न प्रपञ्च रचेर आफ्नो स्वार्थ अनुकूलका निजी अस्पतालमा पु–याउने गरेका पाइएको छ।पोखरिया नगरपालिका–६ की रोशनी खातुन गर्भवती अवस्थामा पोखरिया अस्पतालमा भर्ना भएकी र उनलाई सो अस्पतालबाट रेफर गरिएपछि एम्बुलेन्स चालकले आफूअनुकूलको निजी अस्पतालमा पु–याएका थिए। खातुनको आर्थिक अवस्था कमजोर भएको र उनले नारायणी अस्पतालमा लैजान भन्दा चालकले विभिन्न प्रपञ्च रचेर इन्डो–नेपाल अस्पताल पु–याएका थिए। इन्डो–नेपाल अस्पतालले पछिल्लो चरणमा सबैखाले स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। यसअघि सो अस्पतालमा आँखाको मात्र उपचार हुने गरेको थियो।
सो अस्पताल तोकिएको मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले छापा मारी मापदण्ड पूरा गर्न तीन महीनाको समयावधि प्रदान गरेको छ। सो अस्पतालले सबैभन्दा बढी कमिशन दिने हुँदा एम्बुलेन्स चालकहरूले अपहरणशैलीमा त्यहाँ बिरामी पु–याउँदै आएका छन्।
नारायणी अस्पतालमा भर्ना हुन गएकी खातुनले इन्डो–नेपाल अस्पतालमा भर्ना हुँदा रु ६२ हजार तिर्नुपरेको थियो। जबकि सुत्केरीको लागि नारायणी अस्पतालमा निश्शुल्क उपचारको साथै यातायात खर्चबापत रु १ हजार दिइन्छ। सरकारी अस्पतालबाट कमिशन नआउने हुँदा एम्बुलेन्स चालकहरूले निजी अस्पतालहरूमा बिरामीहरूलाई अपहरणशैलीमा पु–याउने गरेको गुनासो बढ्दो छ।