प्रस, वीरगंज, ११ फागुन/
पर्सा जिल्लाबाट पेट्रोलियम पदार्थको तस्करी बढ्दो छ। भारतमा पेट्रोलियम पदार्थको मूल्य नेपालको तुलनामा निकै महँगो भएको कारण सीमावर्ती भारतीय क्षेत्रमा अहिले पर्साबाट दिनहुँ पेट्रोल, डिजेलको तस्करी भइरहेको छ।
विगत केही महीनादेखि पर्सा जिल्लाका जानकीटोला, भिस्वा, दसौता, पाँडेपुर, महादेवपट्टि, सुवर्णपुर, विजयबस्तीलगायतका स्थानबाट पेट्रोलियम पदार्थको तस्करी हुँदै आएको छ। यहाँबाट भारतीय बजार घुमाटार, भङ्गाहा, इनर्वा, मैनाटार र सिकटासम्म तस्करीमार्फत पेट्रोल र डिजेल जाने गरेको छ।भारतमा प्रतिलिटर पेट्रोल र डिजेल नेपालको तुलनामा रु २५ महँगो भएकोले सीमावर्ती क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करी बढेको हो। नेपाल आयल निगमबाट ग्रामीण क्षेत्रमा पर्याप्तरूपमा पेट्रोलियम पदार्थ पूर्ववत्रूपमा आपूर्ति हुँदै आए पनि अहिले तस्करीका कारण ग्रामीण क्षेत्रका केही पेट्रोलपम्पमा स्थानीयहरूले पेट्रोल, डिजेल नपाएको अवस्था छ। तस्करहरूबाट बढी मोल पाउने हुनाले पेट्रोलपम्प सञ्चालकहरूले उनीहरूलाई उपलब्ध गराउने हुँदा जिल्लाका सर्वसाधारणले अहिले पेट्रोलियम पदार्थको अभाव झेल्नुपरेको हो। नेपाल आयल निगमले भने ग्रामीण क्षेत्रमा सहजरूपमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै अFएको र कमी हुन नदिएको बताएको छ। स्थानीयले भने सहजरूपमा पेट्रोलियम पदार्थ पाउन नसकेको गुनासो गरेका छन्। उनीहरूले दैनिक कार्यको लागि मोटरसाइकल, ट्याक्टर र कृषिजन्य कामको लागि पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुँदा समस्या भोग्नुपरेको बताएका छन्।