प्रस, रौतहट, १० फागुन/
यमुनामाई गाउँपालिका वडा नं ४ का कृषकहरू चर्को मूल्यमा मल किन्न बाध्य छन्। गहुँ तथा तरकारी खेतीका लागि चर्को मूल्यमा मल किन्न उनीहरू बाध्य भएका हुन्।गाउँपालिकाबाट अनुदानको मल बिक्री वितरण नभएको कारण किसानहरू समस्यामा परेका हुन्। यमुनामाई गाउँपालिकाका स्थानीय मल बिक्री वितरण व्यवस्थापन समितिले नयाँ सहकारी संस्थालाई मल बिक्री वितरण गर्ने डिलरको सिफारिश गरेका कारण कृषि सामग्री कम्पनी लि. चन्द्रपुरले मल नदिएको जनाएको छ। दुई वर्ष कार्य गरेका संस्थालाई विक्रेताको स्वीकृत गर्नुपर्ने प्रावधान रहे पनि स्थानीय मल बिक्री वितरण व्यवस्थापन समितिले महिला विकास कृषि सहकारी संस्था लि.लाई सिफारिश गरेको कारण विक्रेताले स्वीकृत नपाउने नियम रहेको कृषि सामग्री कम्पनी लि. चन्द्रपुरका अधिकारीहरूले बताए।
दुर्गम क्षेत्रमा पुरानो संस्था नभए गाउँपालिकाको सिफारिशमा नयाँ संस्थालाई दिने पत्र ल्याउन भने पनि हालसम्म पत्र ल्याउन नसकेको कृषि सामग्री कम्पनी लि.का प्रमुख रविकुमार केशरीले बताए। जनकल्याण जल उपभोक्ता कृषक सहकारी संस्था लि सरुअठाले विगत १० वर्षदेखि मल विक्रेताको स्वीकृत लिंदै आएको थियो तर यस वर्ष नयाँ संस्था छनोट गरेको कारण किसानलाई मल पाउन समस्या भएको संस्थाका अध्यक्ष ब्रजभूषण सिंहले बताए। जनकल्याण जल उपभोक्ता कृषक सहकारी संस्था लि. सरुअठालाई साल्ट ट्रेडिङमा सिफारिश गरिएको गाउँपालिकाबाट थाहा हुन आएको छ। यसैबीच जनकल्याण जल उपभोक्ता कृषक सहकारी संस्था लि सरुअठाका अध्यक्ष ब्रजभूषण सिंहले गाउँपालिकामा निवेदन दिई मल विक्रेताको सिफारिश गर्न माग गरेका छन्।