प्रस, वीरगंज, १० फागुन/
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ।
विगत डेढ महीनादेखि ट्राफिक नियम पालनासम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको ट्राफिकले अहिले विद्यालयस्तरमा विद्यार्थीहरूलाई ट्राफिक नियमबारे जानकारी गराउने र सडकमा विभिन्न सवारीसाधन चलाउनेहरूलाई सोसम्बन्धी जानकारी गराउँदै आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज महानगरलाई लक्षित गरेर पहिलो चरणमा रिफ्लेटिक स्टिकर बाइपास सडकको विद्युतीय पोल र वीरगंजमा सञ्चालित सवारी साधनहरूमा टाँस गरेको थियो।
यसैगरी, जिल्लाको पर्सागढी र पोखरिया नगरपालिकामा पनि ट्राफिक नियमसम्बन्धी चेतनामूलक कार्यक्रम गरेको थियो। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक चेतना कार्यक्रम गर्नुपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीले बताए। उनले अभियान अन्तर्गत निर्माण सामग्रीहरू बोक्ने ट्याक्टरहरूमा रातो झन्डा झुन्ड्याइएको बताए। निर्माण सामग्री ढुवानी गर्ने ट्याक्टरहरूमा रातो झन्डा झुन्ड्याउँदा पछाडिका सवारीसाधनहरूबाट हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण हुने उनले बताए।
यसैगरी, ट्राफिक जनचेतनासम्बन्धी ग्रामीण क्षेत्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई प्रशिक्ष्Fण दिने कार्य शुरू गरिएको प्रनि कार्कीले बताए। यसै क्रममा वीरगंज महानगर–२८ बगहीस्थित महानन्द उपाध्याय माविमा अध्ययनरत छात्रछात्रा, शिक्षकहरूलाई आइतवार ट्राफिक नियमसम्बन्धी जानकारी गराइएको बताए। ट्राफिक नियम कानूनको पालना गराउनुका साथै विद्यालयअगाडि ट्राफिक नियमसम्बन्धी होर्डिङ बोर्ड राख्ने कार्यक्रम रहेको व्यवस्थित वीरगंज अभियानका संयोजक दिलीपराज कार्कीले बताए।
ट्राफिक चेतनासम्बन्धी कार्यक्रम अन्तर्गत आज मोटरसाइकल चालकहरूलाई हेलमेटको फित्ता लगाउन र ट्राफिक नियम पालना गर्न सचेत गराइएको थियो। सडकमा मोटरसाइकलहरूलाई रोकेर चालकहरूलाई अनिवार्यरूपमा हेलमेटको फित्ता बाँध्न र ट्राफिक नियम पालना गर्न सुझाइएको प्रनि कार्कीले बताए।