प्रस, मकवानपुर, ७ फागुन/
    प्रदेश–२ को बारा र वाग्मती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङमार्ग आजभन्दा १०४ वर्षअघि बनेको हो। सन् १९१७ मा राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको यो सुरुङमार्ग एशियाकै पहिलो सुरुङमार्ग हो।
    वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करीब पाँच करोड रुपैयाँको लागतमा सुरुङमार्गको पुनर्निर्माण तथा मरम्मत सम्भार गर्ने भएको छ। निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको प्रदेशका यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेवबहादुर भण्डारीले जानकारी दिएका छन्। उक्त मार्गबाट विसं २०२० सम्म सवारी आउजाउ हुने गरेको अग्रजहरू बताउँछन्।
    चुरियामाई सुरुङमार्गको पुनर्निर्माणका लागि वाग्मती प्रदेश सरकारले बिहीवार बोलपत्र आह्वान गरेको हो। प्रदेश सरकारले उक्त सुरुङमार्गको पुनर्निर्माण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ। सुरुङमार्गसँगै सुन्दर टोनी हेगन उद्यानलगायतको संरचना निर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सञ्चारकर्मीलाई जानकारी दिए।        प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले  उक्त सुरुङमार्ग सञ्चालन विसं २०१८ ताका  भारतबाट बाराको अमलेखगंजसम्म रेलसमेत आउने गरेको स्मरण गरे। पौडेलका अनुसार उक्त मार्ग निर्माणताका अमलेखगंजबाट मकवानपुरको भीमफेदीसम्म मोटरबाटो पुगेको थियो। ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको समेत खर्च बढी हुने भएपछि तत्कालीन राणा सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो।
    आजभन्दा १०४ वर्षअघि बनेको त्यो सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एशियामैं सुरुङमार्ग नभएको त्यही समय नेपाल आएका भूगोलशास्त्री टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन्। हेगनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौं आश्चर्यका रूपमा उल्लेख गरेका छन्। स्वीट्जरल्यान्डबाट नेपालको खानीलगायतको भौगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका हेगनले आफ्नो पुस्तक “दि हिमालयन किङ्गडम अफ नेपाल”मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन्।
    चुरियामाई सुरुङमार्ग नेपालका पहिलो इन्जिनीयर तथा नेपाली सेनाका  कर्णेल डिल्लीजङ्ग थापाको नेतृत्वमा निर्माण गरिएको थियो। विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लम्बाइको थियो। हाल पहिरोले एकापट्टिको भाग पुरिएपछि यो मार्गको २८० मिटर मात्र बाँकी रहेको छ। इन्जिनीयर थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्गनजीकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ। इन्जिनीयर थापाले सुरुङ खन्न थालेपछि उनलाई सपनामा देवीले “म बसेको ठाउँमा बाटो खनिस्, त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर्” भनेका कारण थापाले मन्दिर बनाएको मकवानपुरका पाकाहरू बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here