प्रस, जनकपुरधाम, ७ फागुन/
७१औं प्रजातन्त्र दिवस शुक्रवार जनकपुरमा धूमधामका साथ मनाइएको छ। सो अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबूराउत गद्दीले वर्तमान अन्योलताबाट सर्वाेच्चले निकास दिने विश्वास व्यक्त गरे।
नेपाली जनताले पटक–पटकको बलिदानीबाट प्राप्त गरेको उपलब्धिको सर्वोच्च अदालतले रक्षा गर्ने उनले विश्वास व्यक्त गरेका छन्। “अहिले अन्योलताको स्थिति छ। भोलि के हुन्छ हुँदैन भन्ने आकलन भइरहेको छ। देशमा आएको उपलब्धि गुम्छ कि ? जस्ता अन्योलता छ,” मुख्यमन्त्री गद्दीले भने, “सर्वोच्चले उपलब्धिलाई बचाउँदै अन्योलता हटाउनेमा विश्वस्त छु।”
लोकतन्त्र, गणतन्त्र, सङ्घीयताका लागि बलिदानी दिने योद्धा र तिनका परिवार अहिले उपलब्धि हराउने चिन्तामा रहेको बताउँदै उनले चिन्तालाई हटाउनुपर्ने विचार व्यक्त गरे।
उनले भने, “हामीलाई विश्वास छ, सर्वाेच्च अदालतले संविधानको रक्षा गर्नेछ,” उनले भने, “प्राप्त उपलब्धि कायम गराउँदै नेपाली जनतालाई अहिलेको परिस्थितिबाट निकास दिनेछ।”
संविधानमा रहेका केही त्रुटिलाई सच्याएर सबैको संविधान बनाउनुपर्छ भन्ने विषयमा मतभेद कायम रहे पनि संविधानले गणतन्त्र, लोकतन्त्र, सङ्घीयता, समावेशितालाई सुनिश्चित गरेको मुख्यमन्त्री गद्दीले बताए।