प्रस, वीरगंज, ७ फागुन/
प्रजातन्त्र दिवस, त्रिभुवन जन्मजयन्ती तथा पूर्वमहारानी कोमल शाहको ७१औं जन्मोत्सव वीरगंजमा विभिन्न संस्थाहरूले मनाएका छन्।
राप्रपा पर्साले प्रजातन्त्र दिवस विपी उद्यानमा मनाएको छ।
कार्यक्रममा वक्ताहरूले संविधान र राज्य व्यवस्थाका अङ्गहरू फेल भइसकेका र जनतालाई सुख दिनुको साटो नेताहरूले झन् बढी दुःख दिइरहेको आरोप लगाए। उनीहरूले देश विकासभन्दा पनि विनाशतर्फ अग्रसर भइरहेको बताए। वक्ताहरूले देशमा भइरहेको आन्दोलनले सबैभन्दा बढी मधेसलाई घाटा भएको र मधेसबाट चुनाव जितेर गएका नेताहरूले जनतालाई आश्वासन बाँड्नुबाहेक कुनै काम नगरेको आरोप लगाए।
अङ्गद ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपाका वीरगंज महानगर अध्यक्ष जलेश्वर सर्राफ, उपाध्यक्ष अवध साह, राजेश गुप्ता, जनजातिका अध्यक्ष राजेश्वर चौधरी, राप्रपाका केन्द्रीय सदस्य शम्भु चौरसिया, उदित सहनी, रामबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सहजीकरण सचिव अजय पौडेलले गरेका थिए।
वीरगंजको महावीर स्थानमा राजभक्त/देशभक्त समूहका अध्यक्ष दीपेन्द्र रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा राजकिशोर चौबे, पशुपति विक्रम शाह, उषा शाह, हीराबहादुर चन्द, सतीश श्रीवास्तव, वीरेन्द्र राम, वीरेन्द्र थापा, बाबूलाल शर्मालगायतले पूर्वमहारानी शाहलाई जन्मदिनको शुभकामना व्यक्त गरेका थिए। यसैगरी, उनीहरूले त्रिभुवन जयन्ती र प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका थिए।
घण्टाघरमा राष्ट्रवादी संयुक्त मोर्चा (राजावादी)मा आबद्ध राष्ट्रिय सरोकार मञ्च, शिवसेना, विश्व हिन्दू महासङ्घ, देशभक्त/राजभक्त समूह, नेपाल राष्ट्रवाद सङ्घ, पर्सा–बारा, नेपाल विद्वत् परिषद्, राजसंस्था पुनस्र्थापना सङ्घर्ष समितिले दिवस मनाएका थिए।
नेपाल राष्ट्रवाद सङ्घ पर्साका अध्यक्ष जनकलाल साहको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष सतीश श्रीवास्तवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यानन्दप्रसाद कलवार, सुनील यादव, राजकिशोर चौबे, पृथ्वी झा, दीपेन्द्र रौनियार, सङ्गीतादेवी साह, उमाशङ्कर कलवार, राजेन्द्र पाल, अच्छेलाल साह, बजरङ्गी साहलगायतले मन्तव्य व्यक्त गरेका थिए।
यसैगरी, राष्ट्रिय सरोकार मञ्चले पनि घण्टाघरमा दिवस मनाएको थियो। मञ्चका संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले नेपाली जनता अहिले पनि नचेते आउँदो दिनमा सन्तति विदेशीको दास बन्नुपर्ने चेतावनी दिए। उनीहरूले वर्तमान परिस्थितिमा राजाबाहेकको विकल्प नरहेको पनि बताए। कार्यक्रममा पशुपति विक्रम शाह, उषा शाहलगायतले मन्तव्य व्यक्त गरेका थिए।