प्रस, सिराहा, ७ फागुन/
    कमला सिंचाइको केही भागलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने तयारी भएको छ। सिंचाइको पूर्वी मूलद्वारलाई पर्यटक क्षेत्रको रूपमा विकास गर्न लागिएको हो।
    सिराहाको कर्जन्हा नगरपालिका–२ स्थित  सरकारले मनाउन लागेको पर्यटन वर्षलाई फलदायी बनाउने उद्देश्यले कमला सिंचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला सिंचाइको पूर्वी मूलद्वारलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागेको हो।
    पछिल्लो समय कमला सिंचाइको पूर्वी मूलद्वारमा घुमफिर गर्नेदेखि वनभोज गर्न आउनेको सङ्ख्या बढ्दै गरेको स्थानीय राजकुमार लामाले बताए। उनले भने, “पहिला पहिला त्यहाँ खासै सर्वसाधारणको चहलपहल थिएन, तर पर्यटकलाई आकर्षित गर्न त्यहाँ भौतिक संरचना निर्माण गरिएपछि बिस्तारै चहलपहल बढ्न थालेको छ।” कमला नदीबाट सिंचाइ गर्न बनाइएको सिंचाइ आयोजनाको मूलद्वारमा आन्तरिक पर्यटक आउने गरेकाले त्यो स्थानलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना ल्याएको कमला सिंचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख विनयकुमार गामीले बताए। धार्मिकस्थलको रूपमा समेत परिचित कमला नदीमा नुहाउन आउने श्रद्धालु बढ्दै गएको प्रमुख गामीले बताए।
    सो स्थानलाई आर्थिक वर्ष २०७६/०७७ देखि नै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागिएको हो। यसबाट आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकसमेत आउने विश्वास लिइएको प्रमुख गामीको भनाइ छ। पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बन्दीपुरदेखि करीब एक किलोमिटरको दूरीमा रहेको सो क्षेत्रमा करीब रु २० लाखको लागतमा सडक ग्रेभल, पोखरी निर्माण, नहरवरिपरि आकर्षक घाँस रोपण, वृक्षरोपण, रङरोगन, रेलिङ, पर्यटक बस्ने कुर्सी निर्माण गरिएको प्रमुख गामीले बताए। प्रमुख गामीका अनुसार चालू आर्थिक वर्षभित्र बन्दीपुरदेखि करीब एक किलोमिटर सडकलाई कालोपत्रे गरिनेछ।
    सो स्थलमा नयाँ निर्माण गरिएको पोखरीमा डुङ्गा राख्ने योजनासमेत रहेको कमला सिंचाइ व्यवस्थापन कार्यालयले जनाएको छ। चुरेको फेदमा रमणीय स्थलको रूपमा रहेको सो स्थलमा पहाड क्षेत्र खोला, मूलगेट निर्माण गरिएको छ।
    आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न बनाइएका संरचनासँगै किसानलाई बा–है महीना मौसमी, बेमौसमी तरकारीखेती गर्न नर्सरी माइनर योजना अन्तर्गत कुलोसमेत निर्माण गरिएको छ। पाँच सय बिघा क्षेत्रफलमा फैलिएको सो क्षेत्रका किसानका खेतमा जेठसम्म सिंचाइ पु–याउन कुलो निर्माण गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here