प्रस, पर्सागढी, ७ फागुन/
जिल्ला प्रहरी कार्यालय, पर्साको अपराध अनुसन्धान शाखाले पर्सागढी नगरपालिकाबाट सातवटा पाडापाडीसहित तीनजनालाई नियन्त्रणमा लिएको छ।
भारतबाट विनाक्वारेन्टाइन अवैध तरीकाले पाडापाडी भित्रिरहेको सूचनाको आधारमा तीनजनासहित पाडापाडी नियन्त्रणमा लिएकोमा स्थानीय एकजना निर्दोष परेको भन्दै प्रहरी चौकी मिलनचोकमा स्थानीयले विरोध गरेका थिए।
पर्सागढी नपा–२ सन्तोष पासवानले आफ्नो दुईवटा पाडी शुक्रवार बाराको जीतपुरसिमरा उपमहानगरमा लाग्ने भैंसी बजारमा बिक्रीका लागि लग्ने क्रममा निजलाई पक्राउ गरी पाडापाडी नियन्त्रणमा लिएको स्थानीयको भनाइ छ।
यसबारेमा अपराध अनुसन्धान शाखा पर्साका शोभन राणासँग बुझ्दा उनले गहुँसँग घुन मिसिएको हुन सक्ने बताए। बरामद पाडापाडीलाई भन्सार पठाइएकोले आफूले केही गर्न नसकेको उनको भनाइ छ। पक्राउ परेका तीनजनालाई प्रहरी चौकी मिलनचोकमा राखिएको छ। पक्राउ परेकामध्ये पासवान निर्दोष भएको र उनी चालक भएको भन्दै उनलाई रिहा गर्न र उनको पाडी फिर्ता गर्न गाउँलेले दबाब दिएका छन्। भारतीय पाडापाडी बरामद गर्ने क्रममा प्रहरीले स्थानीयलाई दुःख दिन नहुने उनीहरूको भनाइ छ।