प्रस, वीरगंज, ३ फागुन/
भारततर्फ डिजेल लगिरहेको आरोपमा ट्याङ्करसहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
वीरगंज महानगरपालिका–२२ जगरनाथपुरस्थित श्वेता आयल टे«डर्समा आइतवार साँझ ना.७ख १५११ नं.को ट्याङ्करमा १३६० लिटर डिजेल भरेर भारततर्फ लैजाँदै गरेको सूचनाको आधारमा पर्सा प्रहरीले चालक, सहचालकसहित आयल टे«डर्सका मुन्सीलाई पक्राउ गरेको जिप्रका पर्साले जनाएको छ।
प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–३ बस्ने चालक रामकृष्ण उप्रेती, राक्सीराङ गापा–३ का सहचालक अशोक पाख्रिन र श्वेता आयल टे«डर्सका मुन्सी महतोलाई पक्राउ गरेको जिप्रका पर्साले जनाएको छ।
प्राप्त जानकारी अनुसार पक्राउ परेको ट्याङ्करले बरौनीबाट डिजेल लोड गरी अमलेखगंजमा अनलोड गर्ने गरेको छ। नेपाल र भारतमा डिजेलको मूल्य समानान्तर नभई भारतमा नेपालभन्दा प्रतिलिटर रु ३५ महँगो छ। नियन्त्रणमा लिइएको ट्याङ्करको अलावा अन्य ट्याङ्कर पनि यस्तो कार्यमा संलग्न रहेको हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
भारतबाट डिजेल बोकेर आएका ट्याङ्करका चालकसँग पेट्रोल पम्पका सञ्चालकले मिलेमतो गरी डिजेल अनलोड गरेको भर्पाइ गर्दै ट्याङ्करलाई भारततर्फ पठाउने गर्छन्। बारा, पर्सा, मकवानपुरका दुर्गम क्षेत्रमा रहेका पेट्रोल पम्पमा इन्धन बिक्री नहुने पम्पहरूका अधिकांश ट्याङ्कर सो कार्यमा संलग्न रहेको स्रोतले बताएको छ। भारतीय नम्बरका ट्याङ्करहरू पनि यस कार्यमा संलग्न रहेको र आइसिपी तथा वीरगंज भन्सारका केही सुरक्षाकर्मीलाई प्रलोभनमा पारी भारततर्फ डिजेल तस्करी गर्ने गरेको स्रोतको दाबी छ। नियन्त्रणमा लिइएको ट्याङ्कर हेटौंडाको रहेको बुझिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here