प्रस, जनकपुरधाम, २७ माघ/
कोरोनाविरुद्धको खोप लगाउन सरकारले निर्देशिका बनाए पनि प्रदेश २ मा उक्त निर्देशिका पालन नभएको पाइएको छ। निर्देशिका अनुसार स्वास्थ्यकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स चालकसहित कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि  अग्रपङ्क्तिमा खटिएकालाई पहिलो चरणमा खोप दिनुपर्ने हो।
तर प्रदेश २ का कतिपय जिल्लामा मन्त्री, राजनीतिक दलका नेतादेखि व्यापारीसम्मले यो खोप पहिलो चरणमैं लगाएका छन् भने कतै स्वास्थ्यकर्मीले नै खोप लगाउन बाँकी रहेको देखिएको छ। जहाँ निर्देशिका पालना भएन, त्यहाँ शतप्रतिशत खोप लगाइएको देखियो तर जहाँ कडाइका साथ मापदण्ड पालना गर्न/गराउन खोजियो, त्यहाँ भने लक्ष्य पूरा भएन।
प्रदेश २ का ८ जिल्लाका ३४ हजार ८ सय ४ जना अग्रपङ्क्तिमा रहनेहरूलाई पहिलो चरणमा खोप आएकोमा हालसम्म २५ हजार ६ सय ३७ जनाले मात्रै खोप लगाएका छन्।
खोप शुभारम्भ हुने दिन नै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले खोप लगाए। शुरूको खोप नै मापदण्डविपरीत थियो।  यसपछि प्रदेशको सत्तारूढ दल जनता समाजवादी पार्टीका युवा नेता किशोरकुमार यादवले खोप लगाए।
यसरी खोप लगाएका नेता, कार्यकर्ताहरू धेरै छन्। यीबाहेक व्यापारी, सरकारी कार्यालयका सवारी चालकहरूले समेतले खोप लगाएको पाइएको छ।
प्रदेशमा केन्द्रीय निर्देशिकाविपरीत पनि खोप लगाएको पाइएको प्रदेशको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले स्वीकार गरेका छन्। आउने दिनमा निर्देशिका अनुसार नै काम हुने झाले बताएका छन्। कतिपय जिल्लामा  स्वास्थ्यकर्मीहरू नै खोप लगाउन डर मानेकोको कारण लक्ष्य पूरा हुन नसकेको झाको भनाइ छ। खोपले आजसम्म कुनै साइड इफेक्ट गरेको नदेखिए पनि स्वास्थ्यकर्मीले लगाउन नमानेकाले अहिलेसम्म पहिलो चरणको खोप कार्यक्रमको लक्ष्य पूरा हुन नसकेको उनको भनाइ छ।
यस क्रममा महोत्तरीमा पहिलो चरणमा २ हजार १ सय ९१ जनाले खोप लगाउने भनिए पनि २ हजार २ सय ७५ जनाले खोप लगाएका छन् भने पर्सामा ४ हजार ९ सय ७१ जनाका लागि खोप आएकोमा ५ हजार १ सय १८ जनाले खोप लगाएका छन्। कारागारका कैदीबन्दी र वृद्धाश्रममा रहेका व्यक्तिलाई खोप लगाइएकाले यी दुई जिल्लामा तोकिएको सङ्ख्याभन्दा बढी सङ्ख्या पुगेको झाले बताएका छन्।
सप्तरी जिल्लामा ३ हजार ७ सय ५४ जनाको लागि खोप उपलब्ध भएकोमा ३ हजार ६ सय ९३ जनाले खोप लगाएका छन्। धनुषामा ९ हजार १ सय ८२ जनाको लागि खोप आएकोमा ३ हजार ८ सय ३ जनाले मात्रै खोप लगाएका छन्।
त्यसैगरी, सर्लाहीमा ४ हजार ७ सय ७२ जनाका लागि खोप उपलब्ध भएकोमा २ हजार ९ सय ७६ जनाले खोप लगाएका छन् भने रौतहटमा ३ हजार ६ सय ९ जनाले लगाउनुपर्नेमा २ हजार ५ सय ३९ जनाले र बारामा २ हजार ३ सय ९५ जनाको लागि खोप आएकोमा १ हजार ८ सय ७ जनाले मात्रै खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here