प्रस, जनकपुरधाम, २७ माघ/
सरकारले आउँदो वैशाख १७ र २७ गते घोषणा गरेको प्रतिनिधिसभाको मध्यावधि निर्वाचनमा प्रदेश २ को पालो पहिलो चरण अर्थात् वैशाख १७ गते परेको छ। सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।
सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुङ्गो लगाएको छ।
बैठकले वैशाख १७ मा प्रदेश २ साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा निर्वाचन गर्ने निर्णय गरेको हो। परिषद्को निर्णय अनुसार पहिलो चरणमा मुलुकका ७७ मध्ये ४० वटा जिल्लामा निर्वाचन हुनेछ।
त्यसैगरी, दोस्रो चरणमा वैशाख २७ गते प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ। मध्यावधि निर्वाचन घोषणा गर्दा सरकारले दुई चरणमा गरिने मिति मात्रै घोषणा गरेको थियो। कुन प्रदेशको कुन चरणमा निर्वाचन गर्ने भन्नेबारे यसअघि सरकारका प्रधानमन्त्री एवं मन्त्रीहरूले अनौपचारिकरूपमा घोषणा गरेको भए तापनि अहिले सरकारले आधिकारिक निर्णय गरेको हो।
यद्यपि मध्यावधि चुनाव घोषणाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन अदालतमा विचाराधीन रहेको छ।