राधेश्याम पटेल, परवानीपुर, २७ माघ/
जनता समाजवादी पार्टीका नेता अनिल झाले सर्वोच्च अदालतको फैसला आफूहरूलाई स्वीकार हुने बताएका छन्।
वीरगंजमा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विघटित प्रतिनिधिसभाबारे सर्वोच्च अदालतको निर्णय जसपालाई मान्य हुने बताए।  नेता झाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोले जसपा आन्दोलनमा रहेको तर पार्टी निर्वाचनबाट नडराएको र निर्वाचनबाट नभाग्ने स्पष्ट पारे। उनले भने, “प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोधस्वरूप अहिले विविध कार्यक्रम गरी जसपा सडक आन्दोलनमा छ, तर अदालतको फैसला विपक्षमा आए पनि सम्मानित अदालतको सम्मान गरेर चुनावमा भाग लिनेछौं, पछि हटदैनौं।”
पार्टी एकीकरण भएपनि नेता र कार्यकर्ताको मन नमिलेको बताउँदै जसपाको राजनीतिक उद्देश्यपूर्तिका लागि सम्पूर्ण नेता, कार्यकर्ता समायोजनमा  इमानदार हुनुपर्नेमा जोड दिए। उनले पार्टी एकीकरण भएर बन्ने जुनसुकै सङ्गठनमा आउने कठिनाइलाई चिर्दै विचार र मन मिलाउँदै जाने बताए।
जसपा पर्साका अध्यक्ष जगदीश पटेलको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यहरू शिव पटेल, सुरेन्द्र  कुर्मी, रामचन्द्र पण्डित, नेजामुद्दीन समानी, पप्पु पटेल, सञ्जय पाण्डेय, मुन्नी श्रीवास्तव, उषा श्रीवास्तव, रम्भा मिश्रलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here