प्रस, वीरगंज, २६ माघ/
नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद् विघटन गरेर देशमा सङ्कट ल्याउने काम भएको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति निधिले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँदै काङ्ग्रेसको मुख्य एजेन्डा संसद् पुनस्र्थापना गर्नु हो भनी बताए। उनले संसद् विघटनविरुद्धको मुद्दा सर्वाेच्चमा विचाराधीन भएकोले अदालतको फैसला काङ्ग्रेसलाई मान्य हुने बताए। उनले विधाराधीन मुद्दाको विषयमा अदालतलाई प्रभाव पार्ने काम कसैबाट हुन नहुने बताए। उनले प्रधानमन्त्री ओलीको कदमले जनमतको अपमान भएको आरोप लगाए।
कोषाध्यक्ष चित्रलेखा यादवले पनि प्रधानमन्त्री ओलीको कदमको विरोध गरिन्। उनले संविधानविपरीत काम भएकोले पार्टीले संसद् पुनस्र्थापनालाई अगाडि सारेको बताइन्। कोषाध्यक्ष यादवले मधेसमा नेका बलियो भएको तर आपसी फुटले निर्वाचनमा कमजोर देखिने गरेको बताइन्। उनले सबैलाई एकताबद्ध भई अगाडि बढ्न आह्वान गरिन्।
प्रेस युनियन पर्साका उपाध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नेका पर्साका सभापति अजयकुमार द्विवेदी, केन्द्रीय सदस्यद्वय फर्मुला मन्सुर, अजयकुमार चौरसिया, पूर्वमन्त्री सुरेन्द्रकुमार चौधरी, संविधानसभा सदस्यत्रय अनिल रूँगटा, राजेन्द्रबहादुर अमात्य, रामेश्वर रौनियार, प्रदेशसभा सदस्यद्वय ओमप्रकाश शर्मा, राजेश्वर साह तेलीलगायतको सहभागिता थियो।