प्रस, वीरगंज, २६ माघ/
प्रदेश नं २ सरकारले अघि सारेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत छोरी बीमा योजना बन्द भएको समाचार छ।
यो कार्यक्रमका लागि बैंकसँग भएको सम्झौता अवधि समाप्त भएको र नयाँ सम्झौता नगरिएकोले तत्कालका लागि यो कार्यक्रम रोकिएको हो। गत माघ महीनामा प्रदेश सरकारले छोरी बीमा कार्यक्रम अगाडि बढाएको थियो र अहिलेसम्म दुई चरणमा ७ हजार १ सय २९ जना छोरीको बीमा गरिसकिएको छ। बीमा गरिएका छोरीहरूले २० वर्षमा जनही तीन लाख रुपैयाँ भुक्तानी पाउनेछन्।
बैंकसँग नयाँ सम्झौता नभएको अवस्थामा यो कार्यक्रम बन्द भएको र गत कात्तिकदेखि जन्मेका छोरीहरूको बीमा कार्यक्रम रोकिएको हो। यसैगरी, यही अभियान अन्तर्गत गत साउन महीनादेखि दर्ता भएका छोरीहरूको बीमाबापतको रकम खाता खोलेर बैंक दाखिला पनि गरिएको छैन। यसअघि प्रदेश सरकारले बीमाका लागि दर्ता भएका छोरीहरूको खातामा सोझै रकम दाखिला गर्दै आएको थियो।