प्रस, पंचगावाँ, २५ माघ/
कोरोनाका कारण बन्द रहेका विद्यालयहरू अहिले सञ्चालनमा आए पनि विद्यालयहरूमा अतिरिक्त क्रियाकलाप हुन सकेको छैन।
अतिरिक्त क्रियाकलाप नभए पनि सोबापतको खर्च भने सामुदायिक विद्यालयहरूले बुझिसकेका छन्। अतिरिक्त क्रियाकलापको लागि पालिकाहरूले विद्यालयलाई प्रशासनिक मसलन्द तथा अन्य खर्च उपलब्ध गराइसकेका छन्। विद्यालयहरूमा हुने अतिरिक्त क्रियाकलाप अहिले नहुनुको कारण सम्बन्धित विद्यालयको कमजोरी भएको अभिभावकहरूले बताएका छन्। अतिरिक्त क्रियाकलापमा खेलकूद, पिटी, राष्ट्रिय गान, वक्तृत्वकला, हाजिरीजवाफ, सांस्कृतिक कार्यक्रम हुने गरेका थिए। अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूमा शारीरिक, मानसिक र बोलीको पनि विकास हुने गरेको थियो। अतिरिक्त क्रियाकलाप अहिले पर्सा जिल्लाका कुनै पनि सामुदायिक विद्यालयहरूमा नभइरहेको विद्यार्थीहरूले गुनासो गरेका छन्।
यस सम्बन्धमा सम्बन्धित विद्यालयहरू अहिलेसम्म उदासीन छन्।
यसबारेमा सखुवाप्रसौनी गापा शिक्षा शाखा प्रमुख विनोद यादवले आफ्नो गापाका सामुदायिक विद्यालयहरूमा थोरबहुत अतिरिक्त क्रियाकलाप भइरहेको बताए। उनले गापाका सामुदायिक विद्यालयहरूको सहभागितामा प्रावि र निमावि तहमा फागुनको पहिलो सातामा अध्यक्ष कपको आयोजना गर्न गइरहेको बताए। उनले यसको तयारीमा जुट्न सबै विद्यालयलाई निर्देशन गरिएको बताए। प्रमुख यादवले अतिरिक्त क्रियाकलापका लागि सामुदायिक विद्यालयहरूलाई छुट्टै बजेट विनियोजन नगरिएको पनि बताए। उनले अतिरिक्त क्रियाकलापका लागि गापामा बजेट आउने र गापाले खेलकूदहरू गराउने गरेको जानकारी गराएका छन्।
यसैगरी, दीपनारायण नमूना आदर्श मावि पंचगावाँका प्रअ शिवनाथप्रसाद थारूले अतिरिक्त क्रियाकलापको लागि गापाले तयारी थालेको बताए। फागुनको ७, ८ र ९ गते अध्यक्ष कपको तयारी गरेको उनले बताए। अतिरिक्त क्रियाकलापबापतको रकम गापामा आउने र सो रकम गापाले नै अतिरिक्त क्रियाकलाप गराएर खर्च गर्ने गरेको उनले बताए।