प्रस, धनुषा, १९ माघ/
प्रधानमन्त्री केपीशर्मा ओलीले धनुषाको ढल्केबरस्थित मुलुककै सबैभन्दा ठूलो विद्युत् सबस्टेशनको सोमवार उद्घाटन गरेका छन्। मिथिला नगरपालिका वडा नं ७ ढल्केबरमा सङ्घीय सरकार र विश्व बैंकको सहुलियत ऋण तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सबस्टेशन निर्माण भएको हो।
उक्त सबस्टेशन नेपालको पहिलो ४०० केभी क्षमताको सबस्टेशन हो। सबस्टेशन उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले विकास निर्माण प्रदेश २ सरकारको प्राथमिकतामा रहिआएको बताए। प्रम ओलीले प्रदेश नं २ मा वैशाख १७ गते नै चुनाव हुने भन्दै चुनावको तयारीमा लाग्न आह्वान गरे।
प्रधानमन्त्री ओलीले तराई–मधेसमा केही समूहले आफूलाई मधेसविरोधी भनेर प्रचार गरिरहेको भन्दै आपत्ति व्यक्त गरे। “केपी ओलीलाई मधेसविरोधी भनेर प्रचार गर्नेहरूले ती मधेसप्रेमी मधेसका गरीब, विपन्न दलित समुदायका डोम, चमार, दुसाध र खत्वेका बच्चाबच्चीलाई काखमा बोक्न सक्नुहुन्छ ? सक्नुहुन्छ भने लु हेरौं त कतिको मधेसप्रेमीहरू हुनुहुँदोरहेछ।”
उनले वर्तमान सरकारले तराई– मधेसमा बाटो, ढल र सिंचाइका आयोजना बनाएको बताउँदै खेतलाई सिञ्चित गर्न पहाड छेडेर कोसी ल्याइने योजना सुनाए। प्रम ओलीले मधेसमा भइरहेको विकास निर्माणबारे चर्चा गर्दै भने, “यही ढल्केबरबाट जनकपुर पुग्नका लागि खाल्डाखुल्डी सडकबाट दुर्ई घण्टा लाग्थ्यो भने अहिले जनकपुर–ढल्केबर ६ लेनको चिल्लो सडक बनेको छ।” उनले अब केही दिनपछि जनकपुर–जयनगर रेल सञ्चालन गर्नका लागि आफैं आउने प्रतिबद्धता जनाएका छन्। “तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकै पालामा खरीद गरिएका दुईवटा रेल भित्रिसकेकाले अब छिट्टै सञ्चालन हुने तयारी हुँदैछ,” उनले जानकारी दिए।
सो अवसरमा प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले ढल्केबर सबस्टेशन हाल सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठूलो भएको जानकारी दिए। सबस्टेशन जिआइएस प्रविधियुक्त स्वचालित छ। “पूर्व–पश्चिम र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन ढल्केबरमा चार्ज हुन्छ,” तिम्सिनाले भने, “४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् पनि ढल्केबरमा चार्ज हुन्छ।”
प्राधिकरणले सुक्खायाममा नेपालमा विद्युत् उत्पादन कम भएका अवस्थामा ढल्केबर स्टेशनमार्फत थप १०० मेगावाट विद्युत् भारतबाट ल्याउन सहज हुने जनाएको छ। सात सय मेगावाटसम्म भारतबाट विद्युत् आयात गरिंदै आएकामा आवश्यक परे आठ सय मेगावाटसम्म विद्युत् आयात गर्न सकिनेछ। त्यसैगरी, ४५६ मेगावाटको माथिल्लो तामाकोसी आएपछि आन्तरिकरूपमा खपत हुन नसकेको विद्युत् भारततर्फ निर्यात गर्न पूर्वाधार तयार भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताबमोजिम थप बिजुलीसमेत आयात गर्न सकिन्छ।
यस्तै, ढल्केबर– मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट थप १०० मेगावाट बिजुली दिन भारत सहमत भएको छ।