प्रस, परवानीपुर, १४ माघ/
मध्य तराईका जिल्लामा बुधवार यो सिजनको अत्यधिक चीसो मापन गरिएको छ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको जल तथा मौसम विज्ञान केन्द्रका प्राविधिक शिवनन्दन यादवका अनुसार बुधवार अधिकतम तापक्रम १३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको बताए।
त्यसैगरी, उनले ४ दशमलव ५ सापेक्षिक आद्रता मापन गरिएको बताए। उनले हावामा पानीको मात्रा बढेको र सोही हावा चल्दा शीतलहर महसूस भइरहेको पनि बताए। उनले बुधवार सबैभन्दा बढी मध्य तराईको क्षेत्रमा मापन गरिएको बताए। तराईमा शीतलहर बढेपछि जनजीवन प्रभावित भएको छ।
विद्यालयहरूमा शिक्षण सिकाइ गर्न पनि कठिन भएको शिक्षकहरूले बताएका छन्। खासगरी वृद्धवृद्धा तथा बालबालिका र गरीब, विपन्न समुदायका लागि यो चीसो कष्टकर भएको छ। वीरगंजस्थित नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले यो मौसममा न्यानो कपडा लगाउने, तातो झोलिलो पेय पदार्थ खाने र बालबालिका तथा वृद्धवृद्धालाई विशेष ख्याल गर्नुपर्नेमा जोड दिए। चीसोमा शहर बजारमा सर्वसाधारणको आवागमन पातलिएको छ।
वीरगंजका विभिन्न चोकमा आगो बालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। दैनिक ज्यालादारी गर्ने रिक्सा चालक, ठेला मजदूरी गर्ने मजदूरहरूलाई कठ्याङ्ग्रिदो चीसोले मर्का परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here