प्रस, वीरगंज, १३ माघ/
कोरोना भाइरसको सङ्क्रमणको कारण लामो समयदेखि बन्द भएका विद्यालयहरू स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने शर्तमा खुले पनि अहिले कुनै पनि सामुदायिक विद्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको पाइएको छैन।
वीरगंज महानगरलगायत पर्सा जिल्लाभरि सामुदायिक विद्यालयहरू सञ्चालनमा छन् तर शुरूका दिनमा चौधवटा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने शर्तमा सञ्चालनमा आएका विद्यालयहरूले अहिले न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड पनि अपनाएका छैनन्। यहाँसम्म कि साबुन–पानीले हात धुने, मास्क लगाउने र सामाजिक दूरी बनाएर अध्ययन गर्ने कार्य पनि गरिएको छैन।
कोरोना सङ्क्रमणको घटना पूर्णरूपमा पर्सा जिल्लामा ठप्प भएको कारण अहिले विद्यालयहरूमा स्वास्थ्य मापदण्डका कुनै पनि कार्यहरू भइरहेका छैनन्। विद्यार्थीहरू मास्कविना घरबाट आउने, विद्यालयमा साबुन–पानीले हात धोएर प्रवेश गर्नुपर्नेमा सो पनि नगर्ने र एउटै बेन्चमा तीनदेखि छजनासम्म बसेर अध्ययन गर्ने पुरानो शैली शुरू भइसकेको छ।
प्रस, सेढवा/
जीराभवानी गापा–३ मा रहेको बितो महतो जनता मावि जीतपुर नौकाटोलाका प्रधानाध्यापक रामाशङ्कर चौधरीले विद्यालय सञ्चालनसँगै विद्यार्थीहरूको चाप बढ्दै गएपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन समस्या भएको बताए। उनले विद्यालयले साबुन–पानीको व्यवस्था गरेको, मास्क दिएको तथा सामाजिक दूरी कायम गरेर अध्यापन गर्न निर्देशन दिए पनि सोको पालना नभएको स्वीकारे।
नेपाल शिक्षक महासङ्घ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले विद्यालय सञ्चालनसँगै गापाले मास्क, साबुन–पानीको व्यवस्था गर्ने बताए पनि अहिलेसम्म नगरेको आरोप लगाए। उनले गापाको निर्देशन अनुसार विद्यालय सञ्चालन हुने बेलामा विद्यालयको खर्चमा सो विधि अपनाइए पनि अहिले बिस्तारै निष्क्रिय भएको स्वीकारे। उनले स्वास्थ्य सुरक्षा मापदण्डविना सामुदायिक विद्यालय सञ्चालनमा रहेको बताए।
पटेर्वासुगौली गापाका शिक्षा संयोजक शम्भु साहले भने आफ्नो पालिकामा सञ्चालित सामुदायिक विद्यालयमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा भएको दाबी गरे। उनले आवश्यकता अनुसार विद्यार्थी, शिक्षक, कर्मचारीलाई मास्क वितरण गरिएको, साबुन–पानीको व्यवस्था गरिएको बताए। उनले गापाले पुनः प्रयोग गर्न सकिने मास्क उपलब्ध गराएको जानकारी गराए।
चीसो बढेको कारण भुइँमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूलाई बिदा दिएको र मास्कविना आउने विद्यार्थीहरूलाई विद्यालयमा प्रवेश निषेध गरिएको संयोजक साहले जानकारी गराए।
प्रस, पोखरिया/
पोखरिया र आसपासका सामुदायिक विद्यालयहरूमा अहिले स्वास्थ्य सुरक्षा मापदण्डको पालना भएको छैन। कालिकामाई गापा–१ मुडली जनता माविका प्रअ राजेश तिवारीले विद्यार्थीलाई मास्क उपलब्ध गराए पनि लगाएर नआएको बताए।
यसैगरी, आसमान नेपाल र नेपाल रेडक्रस सोसाइटीले यो क्षेत्रका थुप्रै विद्यालयमा प्याडल ह्यान्डवाशको व्यवस्था गरेको तर त्यसको प्रयोग विद्यालयले नगरेको पाइएको छ। प्रअ तिवारीले अब प्रयोगमा ल्याउने प्रतिबद्धता जाहेर गरे।
आसमान नेपालले पोखरिया आसपासका क्षेत्रमा रहेका ४५ वटा सामुदायिक विद्यालयमा प्याडल ह्यान्डवाशको व्यवस्था गरेको छ भने नेपाल रेडक्रस सोसाइटीले पनि विभिन्न विद्यालयमा सोको व्यवस्था गरेको छ। तर विद्यार्थीहरू कोरोना भाइरसबाट डराउन छाडेका छन् र सुरक्षा मापदण्ड अपनाएका छैनन्। सबै विद्यालयमा अहिले पूर्ववत्रूपमा कक्षाहरू सञ्चालनमा छन्।