प्रस, वीरगंज, ११ माघ/
प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले प्रवेशद्वारको निर्माण जनविरोधी काम भएको बताएका छन्।
वीरगंज महानगर–२४ बहुअरीमा निर्मित ढलान सडकको उद्घाटन गर्दै उनले विकासको नाममा प्रवेशद्वार बनाउने होडबाजी चलेकोमा आक्रोश व्यक्त गर्दै सो कार्य जनविरोधी भएको आरोप लगाए। उनले प्रवेशद्वारबाट कुनै पनि किसिमको विकास निर्माणमा टेवा नपुग्ने बताउँदै अहिले जिल्लाभरि प्रवेशद्वार बनाउने होडबाजी चलेकोमा आपत्ति जनाए। जनताको अति आवश्यक कामप्रति ध्यान नदिने तर प्रवेशद्वार बनाएर आफ्नो नाम अङ्कित गर्ने होडबाजी राम्रो नभएको उनले प्रतिक्रिया दिए। उनले विकास निर्माणको होडबाजी गर्ने हो भने गाउँशहरमा अहिले पनि सडक सञ्जाल बनिनसकेको, नालाको अवस्था दयनीय रहेको हुँदा त्यस्ता कार्यमा ध्यान दिन आग्रह गरे। जिल्लाभरि अहिले पुलको अवस्था दयनीय भएकोले सोको निर्माणमा ध्यान नदिएकोमा उनले आपत्ति जनाए। सडक, नाला, पुलपुलेसा बनाएर जनमैत्री व्यवहार गर्न उनले सबै जनप्रतिनिधिलाई आग्रह गरे। जनसल्लाहमा विकास निर्माणको काम गर्दा त्यसको प्रतिफल राम्रो हुने भन्दै उनले आफूले सोहीअनुरूप काम गर्दै आएको दाबी गरे।
टोल सुधार समितिका अध्यक्ष गौरीशङ्कर द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य रामकेश्वर कुशवाहा, नेपाल भोजपुरी प्रतिष्ठान वीरगंज महानगरका अध्यक्ष उमाशङ्कर द्विवेदी, उपभोक्ता समितिका शिवशङ्कर द्विवेदी, डा आनन्द द्विवेदी, वीरबल यादव, रामशङ्कर द्विवेदीलगायतको सहभागिता थियो।