प्रस, पथलैया, ७ माघ/
बढ्दो चीसोका कारण प्रभावित ग्रामीण भेगका विद्यालय जाने बालबालिकालाई लक्षित गरी लायन्स क्लब अफ सिमरा युथ, युवा समाज सिमरा र नेपाल बाल सङ्गठनले बुधवार न्यानो कपडासहित शैक्षिक र खेलकूद सामग्री वितरण गरेको छ।
चीसो मौसममा कठ्याङ्ग्रिदै विद्यालय जान बाध्य जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १७ र १८ का करीब चार सय बालबालिका र उनका एक सयभन्दा बढी अभिभावकलाई न्यानो कपडा वितरण गरिएको हो।
जीतपुरसिमरा उपमहानगर वडा नं १७ जैतापुरको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, कुशमाडीको सूर्य विनायक प्राथमिक विद्यालय र बडहर्वाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिका र अभिभावकलाई न्यानो कपडा वितरण गरिएको लायन्स युथका अध्यक्ष हङ्कलपित न्यौपानेले बताए।
केही दिनयता बढेको चीसोका कारण ग्रामीण भेगका विपन्न परिवारका बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन्। बढ्दो चीसोबाट प्रभावित बालबालिकालाई राहत दिने उद्देश्यले स्थानीय सामाजिक कार्यमा सक्रिय संस्थासँग मिलेर कपडासहित शैक्षिक र खेलकूद सामग्री वितरण गरिएको अध्यक्ष न्यौपानेको भनाइ छ।
करीब चार सय बालबालिकालाई लायन्स क्लब अफ सिमरा युथले ज्याकेट र स्वेटर, युवा समाज सिमराले उनका महिला र पुरुष गरी एक सयजना अभिभावकलाई ज्याकेट, पेन्ट, कुर्तासुरुवालसहित न्यानो कपडा र बाल सङ्गठनले तीनवटा विद्यालयका छात्रछात्रालाई शैक्षिक र खेलकूद सामग्री वितरण गरेका हुन्। कार्यक्रममा बालबालिकासहित विद्यालयलाई ६ सय थान कापी र पेन्सिल, ६ थान फूटबल, ६ थान ब्याटमिन्टनलगायत शैक्षिक तथा खेलकूद सामग्री वितरण गरिएको थियो। चीसोमा कठ्याङ्ग्रिएका बालबालिका न्यानो कपडा र सामग्री पाएपछि खुशी देखिएका थिए।
“कोही आएर केही थान कपडा दिएर फोटो खिचाएर मात्रै फर्कन्छन्। तर आज बालबालिकादेखि वृद्धवृद्धासम्मलाई बाक्लो कपडा, कापीकलम, फूटबल र ब्याटमिन्टन सबै बाँडिएको छ,” स्थानीय जीतेन्द्र रामले भने, “यस्तो चीसोमा सानो बच्चासहित हामीलाई राहत भएको छ।” न्यानो वितरण कार्यक्रमले ठूलो राहत पुगेको भन्दै विद्यालयका शिक्षक र स्थानीयले संस्थाका प्रतिनिधिलाई धन्यवाद व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here