प्रस, परवानीपुर, ७ माघ/
भारत, बिहार राज्यमा ट्रक व्यवसायीले गरेको दुई हप्तादेखिको हडतालको कारण वीरगंज नाकामा खासै प्रभाव परेको छैन। वीरगंजका व्यवसायीहरूका अनुसार बिहारमा दिनमा हडताल र रातिमा सामान बोकेका सवारीसाधन सहजै नेपाल भित्रिरहेका छन्।
वीरगंज उद्योग वाणिज्य सङ्घका सदस्य सुरेश रूँगटाले भने, “वीरगंज नाकाबाट सबै किसिमका सामान आयात पुरानै लयमा भइरहेको छ, पहिले दिनमा धेरै सामान आउँथ्यो भने दुई सातादेखि रातिको समयमा मालसामान बोकेका गाडीहरू नेपाल भित्रिरहेका छन्।”
उनले भारतको बिहार, उत्तरप्रदेश, पश्चिम बङ्गाल, दिल्ली, राजस्थानलगायतका ठाउँबाट सहजै सामान आइरहेको बताए। “दिनमा हडताल र रातिमा गाडी चलिरहेको छ,” उनले भने, “भाडा पनि खासै बढेको छैन, पुरानै दरमा ट्रकले सामान ल्याइरहेको छ।” भारतका विभिन्न राज्य र कोलकाता बन्दरगाहबाट धान, केमिकल, फलाम, क्लिङ्कर, कोइला, फ्लायस, ट्रेडिङ सामान, विभिन्न उद्योगका कच्चा पदार्थलगायतका सामग्री नेपाल सहजै भित्रिरहेको व्यवसायीहरूको भनाइ छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहारमा ट्रक अनर्स एशोसिएशन गत पुस २६ गतेदेखि बिहार राज्यभरि कुनै पनि मालसामान बोकेको गाडी सञ्चालनमा रोक लगाउँदै हडतालमा उत्रेको छ। बिहार सरकारले १४ वटाभन्दा बढी चक्का भएका ढुवानीका साधन र डम्पर (टिपर)मा ढुङ्गा, गिट्टी, बालुवा ढुवानी गर्न प्रतिबन्ध लगाएपछि बिहारका ढुवानी व्यवसायी हडतालमा उत्रिएका हुन्।
नेपाल–भारतबीचको पारवहन सम्झौता अनुसार भूपरिवेष्टित देश नेपालका नाकासम्म मालवस्तु पुग्न भारतले बाटो निर्बाध उपलब्ध गराउनुपर्ने प्रावधान छ। बिहारमा भएको हडतालको कारण पूर्वी नाका विराटनगरबाट आयातमा असर परेको छ। भारतीय सीमावर्ती बजारतिर ५ किलोमिटरसम्म सवारीसधानको लाम लागेको बताइएको छ।