प्रस, निजगढ, ७ माघ/
नागरिक उड्डयन तथा पर्यटनमन्त्री भानुभक्त ढकाल र वन तथा वातावरणमन्त्री प्रेम आलेले सरकारले उचित विकल्प दिएर मात्रै टाँगियाबस्तीलाई अन्यत्र स्थानान्तरण गर्ने बताएका छन्।
बुधवार टाँगियाबस्ती पुगेका मन्त्रीद्वय ढकाल र आलेले बाराको निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको अवलोकन, निरीक्षण गरी टाँगियाबस्तीका स्थानीयलाई सो कुरा बताएका हु्न।
आफूहरू यहाँको वास्तविक अवस्था, जनताका मुख्य समस्यालाई नजीकैबाट नियाल्न स्थलगतरूपमा टाँगियाबस्ती आएको मन्त्री ढकालले बताए। “सरकारले तपाईंहरूलाई टाढा पठाउँदैन। सकभर नजीकै सार्ने योजना बनाउँछ,” मन्त्री ढकालले भने।
वर्षौंदेखि बस्दै आएको बस्तीको सामाजिक, मौलिक, सद्भावलाई समेत ध्यानमा राख्दै बस्ती सारिन्छ। सरकार जनताको अभिभावक भएकोले यस क्षेत्रभित्र वर्षौंदेखि बसोवास गर्दै आएको जनतालाई त्यतिकै उठाएर नपठाउने, उचित आत्मसम्मानका साथ विकल्प दिने मन्त्री ढकालले प्रस्ट पारे। देशको पूर्व–पश्चिमको भौगोलिक दूरीलाई ध्यानमा राख्दै निजगढमा यस विमानस्थल बनाउन यसअघिका सरकारले कार्य गर्दै आइरहेको बताउँदै यहाबाट पूर्व–पश्चिमका शहर पुग्न बढीमा चार–पाँच घण्टा लाग्नेछ। यस्ता अन्य भूबनोट व्यापारिक र प्राविधिक आधारमा छनोट भएको मन्त्री ढकालले बताए।
त्यसैगरी, मन्त्री आलेले विमानस्थल पनि यहीं बन्ने र बस्तीको स्थानान्तरणको लागि एक हजार बिघा जमीन आवश्यक पर्ने भएकोले सम्भावित स्थानको चयन गर्न सरकार अग्रसर भएको बताए। यस सरकारले टाँगियाबस्तीको उचित व्यवस्थापनविना जनतालाई जबरजस्ती हटाएर विमानस्थल बनाइ नहाल्ने कुरामा ढुक्क हुन मन्त्री आलेले टाँगियावासीलाई प्रस्ट पारे। विमानस्थल निर्माणपछि राजधानी पुग्न बढीमा एक/डेढ घण्टा लाग्ने भएकोले यसले मुलुकको आर्थिक उन्नति, समृद्धि र रोजगारमा समेत उल्लेखनीय फड्को मार्ने बताए।
यता टाँगियाबस्ती सरोकार समितिका तर्फबाट सुमन थोकरले स्थानीयवासीहरूको उचित माग सम्बोधन गर्न मन्त्रीद्वय ढकाल र आलेलाई आग्रह गरे। वर्षौंदेखि बसेको बस्ती भएपनि विकासका लागि आफूहरू बाधक नभएको तर उचित व्यवस्थापनविना आफूहरू स्थानान्तरण नहुने अडान उनले स्थानीयको तर्फबाट राखे। विमानस्थल निर्माण हुने भन्दै यस बस्ती वर्षौंदेखि खानेपानी, विद्युत्, सञ्चारबाट वञ्चित हुँदै आइरहेकोले सरकारलाई बेलैमा ध्यान दिन थोकरले आग्रह गरे।
मन्त्रीहरूसहितको अनुगमन टोलीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि पसाहा खोलाको तटबन्ध, बकैया खोलामा भइरहेको तटबन्ध निर्माण कार्यको स्थलगत अनुगमन गरेको थियो। सो टोलीमा पूर्वसांसद किसान श्रेष्ठ, प्रधानमन्त्रीका पूर्व जनसम्पर्क सल्लाहकार एवं यस क्षेत्रका नेता अच्युत मैनाली, बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विजय यादव, डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमद, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेल, कोल्हवी नपाका प्रमुख भरतबहादुर भण्डारी, इलाका प्रहरी कार्यालय निजगढका प्रमुख विकास थपलिया, बाराका सशस्त्र प्रहरीलगायत सहभागी थिए।