ओमप्रकाश चौधरी, सेढवा, ४ माघ/
शीतलहरको समयमा पनि जीराभवानी गाउँपालिका–५ सखुनियाका किसानहरू रातभरि जङ्गली जनावरको निगरानीमा जाग्राम बस्ने गरेका छन्।
किसानले लगाएको बाली जङ्गली जनावरहरूले नष्ट गरेपछि सयभन्दा बढी किसान अहिले जाग्राम बसेर जनावरको निगरानी गर्दैछन्। पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय अन्तर्गतको राष्ट्रिय वनबाट घोडगधा, हरिणलगायतका जङ्गली जनावरहरू आएर किसानले लगाएको गहुँ, तोरी, आलुलगायत नष्ट गर्ने गरेको किसानहरूले बताएका छन्। स्थानीय किसान कमलेश यादवले मेहनत र लगानीका साथ गरिएको खेती जङ्गली जनावरको कारण असुरक्षित भएको बताए। उनले निकुञ्ज र वनले जङ्गली जनावर रोकथामको लागि प्रभावकारी कार्य नगर्दा यस भेगका किसानहरू जङ्गली जनावरबाट पीडित भएको बताए।
दुई सातादेखि जङ्गली जनावरले दुःख दिंदै आएको र किसानहरू बाली जोगाउन रातभरि चीसोमा जाग्राम बस्नुपरेको यादवले बताए। किसानहरू खेतमा झुपडी, मचान बनाएर लट्ठी लिएर जङ्गली जनावर धपाउन रातभरि जाग्राम बस्ने गरेका छन्।