प्रस, परवानीपुर, २७ पुस/
भारत, बिहार, पूर्वी चम्पारणको हरिसिद्धिमा नेपाल–भारत मैत्री संवाद सम्पन्न भएको छ।
मिडिया फर बोर्डर हार्मोनी हरसिद्धिद्वारा आयोजित समारोहमा नेपाल–भारतका राजनीतिकर्मी, सञ्चारकर्मी र छात्रछात्राहरूको सहभागिता थियो।
कार्यक्रममा वक्ताहरूले कोरोना महामारीले गर्दा सीमा क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न दुवै देशका सरकारलाई १४ बुँदे माग प्रस्तुत गरिएको थियो। जसमा नेपालका लागि भारतले कोरोना खोप उपलब्ध गराउनुपर्ने, नेपाल सरकारले एकलौटीरूपमा जारी राखेको लकडाउन खुला गर्नुपर्ने, नेपाल–भारतबीचको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक सम्बन्धलाई अझै मजबूत बनाउनुपर्नेलगायत माग राखिएको थियो।
कार्यक्रममा मुजफ्फरपुरका बिजेपी सांसद अजयकुमार निषादले रक्सौलबाट पटनाको लागि छुट्टै रेल सञ्चालनको लागि केन्द्र सरकारसँग पहल भएको बताए। उनले यी दुईवटा योजना अघि बढेमा नेपाललाई भारतका विभिन्न राज्यसँग जोड्न र उपचार, शिक्षा, भ्रमणलगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गरे। उनले नेपालको भूमि व्यवस्थापन र जग्गा खरीद–बिक्रीको प्रक्रिया निकै राम्रो भएकोले जग्गा खिंचलोको मुद्दा कम र विवाद कम हुने गर्दा त्यही मोडेल पनि बिहार र भारतमा पनि लागू गर्न भारतीय संसद्मा आवाज उठाउने बताए।
पर्सा क्षेत्रका निवर्तमान सांसद प्रदीप यादवले नेपाल–भारतको सम्बन्ध दुवै देशका प्रधानमन्त्रीले गर्दा नबिग्रिने धारणा राखे।
पत्रकार चन्द्रकिशोरले नेपाल–भारतबीचको सीमाञ्चल सम्बन्ध जनजनको सम्बन्ध भएकोले दुवै देशका पत्रकारहरूले एकअर्का देशका बारेमा लेख्दा अथवा समाचार सम्प्रेषण गर्दा ख्याल गर्नुपर्ने बताए।
हरिसिद्धि क्षेत्रका बिजेपी विधायक कृष्णनन्दन पासवानले नेपाल–भारत सम्बन्ध कोरोनाको कारण असहज परिस्थिति भए तापनि आगामी दिनमा आवागमन बढाउँदै दुवै देशबीच संवाद र छलफल गराउनुपर्ने बताए।
नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदीले नेपालको जङ्गल र चुरे संरक्षणको लागि नेपाल सरकारले ध्यान नदिए नेपालको तराईसँगै बिहारका दर्जनौं जिल्लामा त्यसको प्रभाव परी जलस्तर घट्ने र रोजीरोटीको समस्या पनि सृजना हुने धारणा राखे।
प्रदेश सांसद ओमप्रकाश शर्माले दुवै देशबीचमा पछिल्लो समय तिक्तता बढे तापनि संवाद र वार्ताको माध्यमबाट सीमा मिचिएको समस्या समाधान गर्न आग्रह गरे।
बिजेपीका पूर्वी चम्पारण पूर्वी जिल्ला अध्यक्ष राजेन्द्र गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद करीमा बेगम, रमेश कुर्मी, मिडिया फर बोर्डर हार्मोनी नेपालका अध्यक्ष अनिल तिवारी, पत्रकार कन्हैयालाल केशरी, रितेश त्रिपाठी, राम सर्राफलगायतले मन्तव्य व्यक्त गरेका थिए।