प्रस, जनकपुरधाम, २७ पुस/
जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोलाई उनकै निर्वाचन क्षेत्र जनकपुरधाममा कालो झन्डा देखाइएको छ। हालै जसपा त्यागेका युवाहरूले सोमवार बिहान कालो झन्डा देखाएका हुन्।
संसद् विघटनविरुद्व जुलुस तथा विरोधसभामा सहभागी हुन जनकपुर आएको मौका पारेर युवाहरूले महतोलाई कालो झन्डा देखाएका हुन्। सो क्रममा प्रदर्शनकारीहरूले नेता महतोको विरुद्धमा नाराबाजी गर्दै मधेसी शहीदको भावनासँग खेलवाड नगर्न चेतावनी दिए।
संसद् विघटनको विरुद्ध जसपाले जनकपुर रेलवे स्टेशनमा आयोजना गरेको विरोधसभामा सहभागी हुन जनकपुर आएका नेता महतोलाई युवाहरूले भानु चोकमा पुग्दा कालो झन्डा देखाएका हुन्। मधेसवादी दल परित्याग गरी नेकपा ओली समूहमा हालै प्रवेश गरेका मुञ्जय राउत नेतृत्वको समूहले महतोलाई जनकपुरस्थित भानु चोकमा कालो झन्डा देखाएको हो।
मधेस आन्दोलनताका नेता महतोले शहीदको परिवारलाई रु ५० लाख दिने घोषणा गरेको र बितेको प्रतिनिधिसभा एवं प्रदेशसभाको चुनावअगाडि पनि सो कुरा पुनः दोहो–याएर प्रतिबद्धतासमेत जाहेर गरेको भएपनि चुनाव जितेपछि प्रतिबद्धता बिर्सिनुका साथै पूरा नगरेकाले कालो झन्डा देखाइएको युवाहरूले बताएका छन्।
मुख्य सडकमा नै युवाहरूले कालो झन्डा देखाउन थालेपछि जनकपुरमा आज प्रहरीको उच्च सतर्कता अपनाइएको थियो। जब चुनाव आयो तब कार्यकर्ता सम्झिने र अन्य नेतालाई बलिको बोको बनाएर पटक–पटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै मतदातालाई उल्लु बनाउने काम महतोबाट भएको आरोप लगाउँदै प्रदर्शनकारी युवामध्येका अजय यादवले अब कार्यकर्ता सचेत भइसकेकाले नेताहरूको जालझेल र छलकपट चल्न नदिने युवाहरूले बताएका छन्।