प्रस, जनकपुरधाम, २२ पुस/
भारतका विभिन्न राज्यमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि नेपाल सरकारले नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरेको छ। भारतबाट आउने मासुजन्य वस्तु नेपाल प्रवेश गर्न निषेध गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।
केन्द्रीय सर्कुलर अनुसार प्रदेश २ का सबै जिल्लामा नेपाल–भारत सीमामा कडाइ गरिएको प्रदेश–२ प्रहरी मुख्यालयले जनाएको छ। भारतबाट स्वस्थ पशुपक्षीसमेत ल्याउन रोक लगाइएको छ। अनुसन्धानका लागि ल्याइने पशुपक्षीहरू भने सम्बन्धित निकायको प्रमाणीकरण हेरेर मात्रै नेपाल भित्रन दिइने मन्त्रालयले जनाएको छ।
भारतमा फैलिएको बर्डफ्लु सङ्क्रमण नेपाल प्रवेश गर्न नदिन अवलम्बन गर्नुपर्ने उपायहरूबारे छलफल र तयारीमा समेत केन्द्रीय सरकारका साथै प्रदेशका सुरक्षा संयन्त्रहरू लागिपरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेले बताएका छन्। नेपालमा सङ्क्रमण भित्रन नदिन के गर्ने भन्नेबारे छलफल शुरू भएको र आवश्यक निर्णय लिइने उनको भनाइ छ।
भारतका मध्य प्रदेश, केरला, हरियाणा, राजस्थान, हिमाञ्चल प्रदेश र झारखण्डमा बर्डफ्लुका कारण कुखुरा तथा पशुपक्षी मरेको पुष्टि भएको छ। बर्डफ्लु देखिएको भारतका विभिन्न राज्यमा कुखुरा, हाँस र माछा पसल खोल्नमा प्रतिबन्ध लगाइएको छ। बर्डफ्लुका कारण भारतको हिमाञ्चल प्रदेशमा धेरै पक्षी मरेको पुष्टि भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here