प्रस, सेढवा, १९ पुस/
जीराभवानी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता आइतवारदेखि वितरण शुरू भएको छ।
पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता यसपटक ढिलो गरी वितरण भएको हो।
गत वर्ष कात्तिक मसान्तमैं यो भत्ता वितरण भएपनि यसपटक पुसको आधाआधीमा वितरण भएको हो। गापा अध्यक्ष्F रामप्रीत महतोले सामाजिक सुरक्षा भत्ता नगद वितरण गरिएको बताए।
बैंकिङ सेवाबाट सो भत्ता वितरणका लागि व्यवस्थापन गरिए पनि सबैको तथ्याङ्क अद्यावधिक हुन नसकेको र सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा सो प्राप्त गर्नेहरूलाई समस्या भएको कुरालाई महसूस गरेर आजबाट नगद वितरण शुरू गरिएको उनले बताए।
बैंकिङ कारोबारबाट सामाजिक सुरक्षा भत्ता वितरणको लागि सरकारले यसअघि निर्देशन गरिसकेको छ तर पर्सा जिल्लाका थुप्रै पालिकामा अहिले पनि बैंकिङ कारोबार अद्यावधिक हुन सकेको छैन। जसले गर्दा सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या देखिएको छ।
वीरगंज महानगरपालिकाले पनि तथ्याङ्क अद्यावधिक नभएको कारण अहिलेसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेको छैन। महानगरपालिकाले पुसको अन्तिम सातादेखि सामाजिक सुरक्षा भत्ता वितरण गरिने जानकारी गराएको छ। सबै वडाबाट भत्ता बुझ्नेहरूको तथ्याङ्क अद्यावधिक नभएको कारण पहिलो चौमासिक किस्ता वितरणमा ढिला भएको वीमनपाले जनाएको छ।
जीराभवानीमा आजबाट भत्ता वितरण भएपछि पर्सा जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नौवटा पालिका छन् भने अझै पनि पाँचवटा पालिकामा यो भत्ता वितरण भएको छैन।