प्रस, निजगढ, १८ पुस/

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा शुक्रवारदेखि पाँच दिनसम्म अमलेखगंज पर्यटन महोत्सव शुरू भएको छ।

कार्यक्रमका अतिथि प्रदेश नं २ का प्रदेशसभा सदस्य सुन्दर विकले  महोत्सवको उद्घाटन गरेका थिए। अमलेखगंजमा आन्तरिक एवं बाह्य पर्यटकका लागि ऐतिहासिक रमणीय स्थलहरू, देवस्थल, पर्सा राष्ट्रिय निकुञ्ज रहेको बताउँदै यसको विकास विस्तारका लागि प्रदेश सरकारले चासो बढाइरहेको उनले बताए। यसको विकासका लागि गुरुयोजना तयार गरी प्रदेशको आर्कषणको केन्द्र बनाउन सकिने उनले सुझाए। प्रदेश सरकारमा आफूले कुरा उठाइरहेको र त्यहाँ आफ्नो सुझावलाई सकारात्मक ढङ्गले हेरिएको विकले बताए। मुलुकको विकास र आर्थिक समृद्धिका लागि पर्यटकीय क्षेत्रको विकास, विस्तार, प्रचारप्रसार आजको प्रमुख आवश्यकता रहेको उनले बताए।

कार्यक्रममा प्रदेशसभा सदस्य सीता गुरुङ, काङ्ग्रेसका नेता शोभाकर पराजुली, नेकपाका नेता दिनेश राई, नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, कृष्ण खनाल, सञ्चारकर्मी प्रकाश लम्साललगायतले महोत्सवको सफलताको शुभकामना दिएका थिए। वक्ताहरूले पर्यटकीय स्थलमा पर्यटन महोत्सव गरिरहँदा सोही बस्तीका जुझारू महिला समाजसेवी गङ्गा बलको सम्झना गर्दै उनको सालिक स्थापना गर्नुपर्ने बताए। बलको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो। महोत्सवमा विभिन्न सामग्रीका स्टल, मनोरञ्जनका लागि पिङ, झुला, व्यापारिक स्टललगायत राखिएका छन्। महोत्सवलाई आकर्षक र मनोरञ्जक बनाउन दैनिक गीत–सङ्गीतको प्रस्तुति रहेको छ। महोत्सवमा गायक कमलकुमार क्षेत्री, निशान भट्टराई, विकास पाण्डे, देवेन्द्र कार्की, भोजपुरी गायक प्रमोद जख्मीको गायन प्रस्तुति रहने आयोजक संस्थाले जनाएको छ। त्यसैगरी, अन्डरग्राउन्ड डFन्स स्टुडियो चितवन र स्थानीय कलाकारहरूको पनि  प्रस्तुति रहनेछ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २१ को कार्यालयद्वारा आयोजित कार्यक्रम वडाध्यक्ष कृष्ण ठकुरीको अध्यक्षतामा भएको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव रूपा चौलागाईंले गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here