प्रस, निजगढ, १० पुस/
तपस्वी भनिएका रामबहादुर बमजनको जन्मघर निजगढ नगरपालिका–१२ बुङ्जोरस्थित घरमा प्रहरीले दुई महीनाअघि अदालतको म्याद टाँस गरे पनि उनी अदालतमा उपस्थित भएका छैनन् ।
अठार वर्षीया किशोरीलाई यौन दुव्र्यवहार गरेको मुद्दा रामबहादुर बमजन भनिने रामलाल बमजनविरूद्ध सर्लाही जिल्ला अदालतमा परेको थियो।
प्रहरीले पटक–पटक सिन्धुलीको पहिरे डाँडास्थित उनको आश्रम र तपस्वी बमजन बस्न सक्ने सम्भावित स्थानमा छापामारी गरे पनि अहिलेसम्म प्रहरीलाई छक्याउन सफल भएपछि उनको घरमैं अदातलको ३५ दिने म्यादसहितको सूचना टाँस गर्नुपरेको प्रहरी स्रोतले जनाएको थियो । आफूमाथि लागेको मुद्दाउपर सर्लाही जिल्ला अदालतमैं उपस्थित भई कानूनी सफाइ दिन अदालतले गत कात्तिक २७ गते सूचना टाँस गरेको थियो ।
बलात्कार, हत्या, बेपत्ता र शारीरिक तथा मानसिक यातना दिएको आरोप लागेका बकजनविरूद्ध सर्लाही जिल्ला अदालतले वारेन्ट जारी गरी हाजिर हुन दिएको म्याद नाघेपछि प्रहरीले गत चार महीनादेखि खोजी कार्य गर्दै आइरहेको छ ।
तपस्वी बमजन अदालतमा हाजिर हुन नगएपछि अदालतले पठाएको सूचना इलाका प्रहरी कार्यालय निजगढ र रतनपुर अस्थायी प्रहरी चौकीका सुरक्षाकर्मीले उनकै घरको मूल ढोकामा सो सूचना टाँसेको उनका आमा, दाइलाई समेत जानकारी दिएका थिए ।
उक्त म्यादको सूचना टाँसमा साक्षी बस्न उनका घरपरिवार र बोधी श्रवण धर्म सङ्घका सदस्यहरूलाई प्रहरीले आग्रह गरे पनि नमानेपछि प्रक्रिया पूरा गर्दै निजगढ नपा–१२ का वडासदस्य टेकबहादुर स्याङ्तान साक्षी बसेका थिए ।
सर्लाही जिल्ला सरकारी वकीलको कार्यालयले बमजनविरूद्ध रौतहटकी गङ्गामाया तामाङलाई बलात्कार गरेको अभियोग लगाउँदै मुद्दा दायर गरेपछि जिल्ला अदातलले बमजनविरूद्ध असार २१ गते वारेन्ट जारी गरेको थियो ।
अदालतको त्यही आदेश कार्यान्वयनका लागि निजगढ नगरपालिका–१२ मा पर्ने रतनपुरीस्थित बमजनको जन्मघर र वडा कार्यालयमा ३५ दिनभित्र अदालतमा उपस्थित हुन आउने म्याद सूचना टाँस गर्नुपरेको थियो ।
तपस्वी भनिएका बमजन अहिलेसम्म प्रहरी वा अदालतको सम्पर्कमा आइनसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्त एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।