प्रस, पंचगावाँ, ३० मङ्सिर/
किसान हकहित सङ्घर्ष समिति, पर्साले जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रदेश नं २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै कृषि ज्ञान केन्द्र पर्साका प्रमुख सात दिनभित्र नियुक्त नगरिए आन्दोलन गर्ने घोषणा गरेको छ।
समितिका अध्यक्ष सहरुमराउत गद्दीले कृषि ज्ञान केन्द्र, पर्सा दुई महीनादेखि कार्यालय प्रमुखविहीन भएको कारण किसानहरूले सो कार्यालयबाट पाउने सेवाबाट वञ्चित भएको र गत आव २०७६/७७ को बजेट फ्रिज भएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।
ज्ञापनमा किसानहरूले गहुँ रोपिसकेको भन्दै सो कार्यालयबाट चालू आवमा सञ्चालन हुने सिंचाइ, कृषि औजारमा अनुदान, स्यालो ट्युबवेल, मोटर, बीउ अनुदान, बजार सेड निर्माण, क्लिनिक सञ्चालन, आकस्मिक बाली संरक्षण, कृषकहरूको क्षमता विकास तालीम र कोरोनाको कारण आर्थिक भारमा परेका किसानहरूले पाउने राहतलगायतका कार्यक्रमहरू प्रभावित भएको उल्लेख छ। यसैगरी, उखु किसानहरूले गत वर्ष र यस वर्षको रकम नपाएकोतर्फ पनि केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ। कृषि ज्ञान केन्द्रमा कार्यालय प्रमुखको व्यवस्थापन गरी किसानहरूले पाउनुपर्ने रकम उपलब्ध गराइदिन ज्ञापनपत्रमार्फत माग गरिएको छ। सात दिनभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने किसान हकहित सङ्घर्ष समितिका अध्यक्ष्F गद्दीले चेतावनी दिएका छन्। ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई बुझाइएको थियो। उनले ज्ञापन बुझ्दै सम्बन्धित स्थानमा ज्ञापनपत्र पठाएर समस्या समाधानतर्फ पहल गर्ने आश्वासन दिए।
यसैबीच, वीरगंजका सचेत युवाहरूले उखु किसानहरूको समर्थनमा वीरगंजमा प्रदर्शन गरेका छन्। काठमाडौंमा सर्लाहीका उखु किसानहरूले भुक्तानी माग गर्दै र पर्सा, बाराका किसानहरूले पनि भुक्तानीको माग गरी गरेको आन्दोलनप्रति उनीहरूले समर्थन जनाएका हुन्। उखु किसानहरूको बक्यौता अविलम्ब भुक्तानी गर्न माग गरिएको युवा नेता ओमप्रकाश सर्राफले बताए। प्रदर्शनमा हरेन्द्रबाबा पटेल, मोनिका सिंह, लालबहादुर सिंह, श्याम सर्राफ, किसन सर्राफ, फिरोज बादशाह, रामेश्वर दास, विक्की सर्राफलगायतको सहभागिता थियो।