जीतलाल श्रेष्ठ, निजगढ, ३० मङ्सिर/
आफू निर्वाजनमा विजयी भए बाराको कोल्हवी नगरपालिकाको सार्वजनिक जग्गालाई सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका नेताहरूले अझै प्रतिबद्धता पूरा नगरेको स्थानीयको गुनासो छ।
नेपाली काङ्ग्रेसबाट सङ्घीय तहमा चुनाव लडेका उमाकान्त चौधरी, प्रदेशमा चुनाव लडेका नेकपाका त्रिलोकी चौधरीलगायत स्थानीय तहमा नगरप्रमुख पदमा उठेका भरतबहादुर भण्डारीसमेतले सार्वजनिक जमीनबारे मतदातालाई झूटो आश्वासन मात्रै दिएको स्थानीय बासिन्दाको टिप्पणी छ।
सार्वजनिक जग्गासम्बन्धी विषय स्थानीय तहको जिम्मेवारी भएकोले आफूलाई त्यस विषयमा यकीन जानकारी नभएको प्रदेशसभा सदस्य त्रिलोकी चौधरीले प्रतिक्रिया दिए। चुनावको बेला जनतालाई झुक्याउने र जितिसकेपछि निर्णायक कार्य नगरेको स्थानीयहरूले आरोप लगाए। “अब यिनीहरूमाथि यहाँका जनताको भरोसा छैन। विकासको नाउँमा सडक बनाएर मात्रै हँुदैन। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु पनि उपलब्धि हो। तर सबै नेता कोहीभन्दा कम्ती देखिएनन्। कतै उनीहरूको भूमाफियासँग त साँठगाँठ छैन भन्ने आशङ्का उब्जिन थालेको छ,” स्थानीय नागरिक अगुवाहरूको टिप्पणी छ।
बाराको कोल्हवी नगरपालिका वडा नं १ स्थित बजार क्षेत्रको कित्ता नं १०९ को ५ बिघा ४ कट्ठा सार्वजनिक जमीन भूमाफियाले हडप्न थालेको भन्दै यसलाई जोगाउनको लागि बितेको १० वर्षदेखि सो क्षेत्रका बासिन्दाले आवाज उठाउँदै आएका छन्। उक्त मुद्दालाई राजनीतिक दल र तिनका उम्मेद्वारहरूले चुनावको बेला सम्झने र जितेपछि बिर्सने गरेका छन्।
कोल्हवी क्षेत्रको मध्यभागमा पर्ने उक्त जमीनमा वर्षौंदेखि हाटबजार लाग्दै आएको छ। व्यापार, व्यवसाय सञ्चालन गर्दै आइरहेका व्यापारीहरूले पनि पक्की संरचना तयार गर्दै व्यवसाय चलाउँदै आइरहेका छन्। यस क्षेत्रभित्र हाटबजारसहित कोल्हवी नगरपालिका, कोल्हवी उद्योग वाणिज्य सङ्घ, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी सुरक्षा बेस, थारू कल्याणकारिणी, ओमशान्तिलगायत सरकारी एवं सार्वजनिक सङ्घसंस्थाहरूको भवन निर्माण भएका छन्।
भूमाफियामा नाम कहलिएका हरिवंश प्रसाईं र अमेरिका चौधरीले गाविसको नक्कली लेटर प्याड, गाविस सचिवको हस्ताक्षर र कागजातसमेत किर्ते बनाइ उक्त सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको अनुसन्धानबाट खुलिसकेको छ। यसरी खुलेपछि त्यसै बेला बारा जिल्ला अदालतले उनीहरूलाई अदालतमा उपस्थित हुन आदेश जारी गरे पनि उपस्थित नभएर उनीहरू फरार सूचीमा छन्।
फरार सूचीमा रहेका अमेरिका चौधरीलाई २०७६ कात्तिक २८ गते इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक वालिष्ठ सिंहको टोलीले पक्राउ गरी अदालतमा बुझाएको थियो। करीब डेढ महीना थुनामा बसेकै बखत उनले सो जमीनको विषयमा सर्वोच्चमा पुनरावेदन भइरहेको भन्दै धरौटीमा मुक्त भएका थिए।
स्थानीय केशश्वर चौधरीको मृत्युपछि मृतककी पत्नी सुखली थरुनी र निजका छोरा अमेरिका चौधरीको मिलेमतोमा सो अवैध कार्य भएको जनाउँदै यसका मुख्य योजनाकारमध्येका कोल्हवी नपा–१ का खेटप्रसाद प्रसाईं रहेको कुरा त्यसै बेलादेखि स्थानीय बासिन्दाले बताउँदै आइरहेका छन्। सुखली थरुनीको पनि आजभन्दा अढाई वर्ष पहिले निधन भइसकेको छ।
सार्वजनिक जमीनलाई माफियाको पञ्जाबाट फिर्ता ल्याएर पुनः सार्वजनिक बनाउनुपर्ने भन्दै नागरिक अगुवा केवल चौधरी, गोविन्द पौडेललगायतले आवाज उठाउँदै आइरहेका छन्। अधिकांश स्थानीयको पनि सार्वजनिक जमीन सार्वजनिक नै हुनुपर्ने माग रहेको उनीहरूले बताएका छन्। तर भूमाफिया गिरोहप्रति नतमस्तक हुँदै जनप्रतिनिधिहरू नै तैं चुप मैं चुपको अवस्थामा रहेपछि सार्वजनिक जग्गा पुनः सार्वजनिक हुनेमा शङ्का उब्जिएको छ।
उक्त सार्वजनिक जमीन क्षेत्र कोल्हवी नगरको मुख्य क्षेत्र भएकोले प्रतिधुर ५ लाखदेखि १५ लाख रुपैयाँसम्म पर्ने स्थानीयहरू बताउँछन्। यसरी सामान्य हिसाबले पनि १०० करोडभन्दा बढी मूल्य पर्ने यस सार्वजनिक जमीन विभिन्न प्रपञ्च गरी हत्याउन भूमाफिया गिरोह निरन्तर लागिपरेका हुन्।
यस सार्वजनिक जमीन व्यक्तिको नाउँमा पुर्जा झिक्ने तीनजना भूमाफियालाई २०६७ फागुन ९ गते प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरेको थियो। बारा कोल्हवीको हाटबजार क्षेत्रको सार्वजनिक एवं ऐलानी जमीनको पुर्जा बनाइ बिक्री तथा भोगचलन गर्ने योजना बनाएका बारा कोल्हवीका हरिवंश प्रसाईं, पारसनाथ चौधरी र अमेरिका चौधरीलाई पक्राउ गरी एक महीना जिल्ला प्रहरी कार्यालय बाराको थुनामा राखी त्यस बेला जनही २०/२० लाख रुपैयाँ धरौटीमा छुटेका थिए।