प्रस, जनकपुरधाम, २३ मङ्सिर/
जनकपुर विमानस्थलमा निर्मित नयाँ टर्मिनल भवनको मङ्गलवार उद्घाटन भएको छ। ५० करोड रुपियाँको लागतमा निर्मित टर्मिनल भवनको सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका हुन्।
कार्यक्रममा मन्त्री भट्टराईले सङ्घीय सरकार र प्रदेश २ सरकारबीच घनिष्ठ सम्बन्ध रहेको भन्दै प्रदेश २ को विकासका सबै पक्षमा सङ्घीय सरकार लागिपरेको बताए। २०२४ सालदेखि सञ्चालनमा आएको ऐतिहासिक जनकपुर विमानस्थलमा हालसम्म यात्रु प्रतीक्षालयसमेत राम्रो बन्न नसकिरहेको अवस्थामा वर्तमान सरकार टुलुटुलु हेरेर बस्न नसकेको भन्दै काम नगर्ने ठेकेदारलाई कारबाई गरेर भएपनि टर्मिनल भवन निर्माण चासोका साथ सम्पन्न गरिएको बताए।
मन्त्री भट्टराइले सीमा क्षेत्र विकास कार्यक्रम, हुलाकी सडक निर्माण, ऐतिहासिक जनकपुर–जयनगर रेलवे सञ्चालन तथा विस्तार, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र काठमाडौं निजगढ द्रुतमार्ग निर्माणलाई वर्तमान सरकारले मुख्य प्राथमिकताका साथ अगाडि बढाएको चर्चा गर्दै उक्त राष्ट्रिय गौरवका योजनाहरूले प्रदेश २ को कायापलट हुने बताए।
सङ्घ र प्रदेश २ बीच फाटो देखाएर निहित स्वार्थ पूरा गर्न चाहनेहरूको जवाफ विकास निर्माणले नै दिने भन्दै उनले सङ्घीयता कार्यान्वयनको चरणमा मुलुक रहेकाले कतिपय असमझदारीहरू पनि आउन सक्ने भन्दै त्यसलाई सच्याएर समझदारीका साथ अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे।
कार्यक्रममा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेशराय यादवले जनकपुर विमानस्थलबाट भारतीय शहर र मुलुकका विभिन्न विमानस्थलहरूमा समेत उडान शुरू गर्न मन्त्री भट्टराईसँग आग्रह गरे। सो अवसरमा सङ्घीय सांसद राजेन्द्र महतो र जुली महासेठ, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलगायतले मन्तव्य व्यक्त गरेका थिए।
निर्माण शुरू भएको ९ वर्षको अवधिमा कामले गति लिन नसक्दा दुईपटक ठेक्का लागेपछि झन्डै नौ वर्षमा नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको हो। नयाँ टर्मिनल भवनमा धावनमार्ग र पार्किङस्थल फराकिलो बनाइएको छ। वारुण यन्त्र र एक्स–रे मेशिनको पनि व्यवस्था मिलाइएको विमानस्थल प्रमुख किरण गौतमले बताए। विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्ने परिकल्पना अनुसार मुलुकमा नै नयाँ प्रविधिको पहिलो प्रयोग यस विमानस्थलमा गरिएको प्रमुख गौतमले बताएका छन्।
यो टर्मिनल भवन बनाउन शुरूमा पप्पु कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो। पटक–पटक म्याद थप्दै उसले लामो समय बिताएर काम पूरा नगरे पछि ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जाँदा धेरै समय लागेको हो। पछिल्लोपटक थेदिंग जालवा उमा कम्पनी जेभी कन्स्ट्रक्सनसँग नयाँ सम्झौता गरी सङ्घीय मन्त्रालयबाट ताकेदा र अनुगमनमा जोड दिएपछि काम सम्पन्न भएको हो।