प्रस, सेढवा, २१ मङ्सिर/
पर्साको ग्रामीण क्षेत्रमा सञ्चालित अटोरिक्शा, म्याजिकका चालकहरूले मनपरी बढी भाडा असुल्दै आएका छन्।
भिस्वा, लङ्गडी, जानकीटोला, सेढवा, सुवर्णपुर, विजयबस्ती, ठोरी, पटेर्वासुगौली, रङ्गपुर, मनवा, पोखरिया, जीतपुर, सिमरा, वीरगंजमा सञ्चालित सयौंको सङ्ख्यामा रहेका अटोरिक्शा, म्याजिकका चालकले स्थानीय पालिका र यातायातले निर्धारण गरेको दररेटभन्दा बढी भाडा असुल्ने गरेको स्थानीयले गुनासो गरेका छन्।
लकडाउनअघि वीरगंज, सिमरा, जीतपुरसम्म बढीमा रु १५० सम्म तिर्दै आएका यात्रीहरूले अहिले रु २५० देखि ३ सयसम्म तिर्नुपरेको गुनासो गरेका छन्। तीनजना अटाउने अटोरिक्शामा ६/७ जना यात्री कोचेर प्रतियात्री रु ३ सयसम्म भाडा लिनु न्यायसङ्गत नभएको स्थानीयको भनाइ छ।
ठोरी गापा–४ विजयबस्तीबाट सुवर्णपुरसम्म ४ किलोमिटर यात्रामा अटोरिक्शाले रु ५० लिने गरेको स्थानीयले बताए।
यात्रीहरूसँग मनपरी भाडा लिए पनि सरोकारवाला निकायले यस सम्बन्धमा चासो देखाएको छैन। इप्रका पटेर्वासुगौलीका प्रनानि ताहिर हुसेनले चर्को भाडा लिने र यात्री कोचेर जोखिमपूर्ण यात्रा गर्ने अटोरिक्शा, म्याजिकविरुद्ध कारबाई गर्ने आश्वासन दिए। उनले गुनासो नआएकाले यस सम्बन्धमा कारबाई प्रक्रिया अगाडि नबढाएको भन्दै मातहतका सबै प्रहरी चौकीलाई निगरानी बढाउन र दोषी चालकहरूलाई कारबाई गर्न निर्देशन जारी गर्ने बताए।
पटेर्वासुगौली गापाकी उपाध्यक्ष ममता महतोले सार्वजनिक सवारीसाधनको भाडा यातायात व्यवस्था कार्यालयले निर्धारण गर्ने बताइन्। उनले प्रदेश र सङ्घ सरकार अन्तर्गत सो कार्यालय भएकोले स्थानीय सरकारको कुनै सरोकार नहुने प्रस्ट्याइन्। केही दिनअघि इलाका प्रहरी कार्यालय पोखरियाले सरोकारवालाहरूको बैठक गरेर अटो सञ्चालकहरूलाई भाडा तोकी बढी भाडा नलिन सुझाएको थियो। सो क्ष्Fेत्रमा पनि बढी भाडा लिएको भनेर गुनासो बढेपछि प्रहरीले पहल गर्दै लकडाउनअगाडिको भाडामा रु १० मात्र वृद्धि गरेको थियो।
तोकिएकोभन्दा बढी यात्री राख्न नपाउने र भाडा पनि तोकिएअनुरूप लिनुपर्ने प्रहरीले निर्णय गरेपछि त्यसमा अटो सञ्चालक, सङ्घसंस्थाहरू सहमत भएका थिए।