प्रस, महोत्तरी, २ कात्तिक/
    महोत्तरी जिल्लामा दशैं महोत्सव गर्न नपाइने भएको छ। देवी देवताका शक्तिपीठ र मन्दिरहरूमा दशैं उत्सव गर्न रोक लगाइएको हो।
    दशैं पर्वमा आयोजन हुने मेला उत्सवको भीडमा कोभिड–१९ सङ्क्रमण जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले यस्ता गतिविधिमा रोक लगाएको जानकारी गराएको छ।
    पर्वको अवसरमा हुने जमघट र भीडमा सङ्क्रमण जोखिम बढ्ने हुँदा यस्तो मेला तथा महोत्सव आयोजन नगर्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताएका छन्।
    दशैं पर्व आआफ्नो घरपरिवारबीच मात्र मनाउन जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख छ। “देवी शक्तिपीठ र मन्दिरमा सम्बन्धित पुजारीले पर्वविशेषको विधि अनुसार नियमित पूजा आराधना गर्नेछन,” प्रमुख जिल्ला अधिकारी कटुवालको हस्ताक्षरित आदेशमा भनिएको छ, “सामूहिक बलि, मेला उत्सव भने आयोजन गर्न पाइनेछैन।”
    त्यसैगरी, दशैं पर्वभरि मदिरा बेचबिखन, सार्वजनिकस्थलमा सेवन गरिने कार्य दण्डनीय हुने आदेशमा उल्लेख छ। निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई तत्काल कारबाई गरिने कार्यालयले स्पष्ट पारेको छ। जिल्लामा शनिवारसम्म एक हजार ६४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट जिल्लामा १६ जनाले ज्यान गुमाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here