प्रस, बिरुवागुठी, २३ भदौ/
पर्सागढी नगरपालिकामा अहिले चोरीका घटनामा वृद्धि भएको छ।
पर्सागढी नगरपालिका–३ सृजनटोलका मानबहादुर तामाङ र वीरबहादुर पहरीको पानी तान्ने मोटर चोरी भएको छ।
यसैगरी, आइतवार पर्सागढी नपा–३ बडनिहार निवासी इन्द्रबहादुर श्रेष्ठको गोठबाट बाख्रा चोरी भएको थियो। घरका सदस्यहरू खेतमा धान काट्न गएको मौका छोपी चोरले गोठबाट बाख्रा चोरेको पीडित श्रेष्ठले बताए।
पर्सागढी नपा–३ झलीटार निवासी बिना खड्काको घरबाट केही दिनअघि एउटा साइकल र मोबाइल चोरी भएको थियो। चोरीबारे प्रहरीलाई जानकारी गराइएको खड्काले बताइन्। यस्तै, वडा नं. ४ बर्वाटाँडी निवासी लक्ष्मण पाठकको सिंचाइ गर्ने मोटर खेतबाटै चोरी भएको छ।
दुई सातायता पर्सागढीमा चोरीका घटना बढ्दै गएपछि स्थानीय चिन्तित भएका छन्। प्रहरी चौकी बिरुवागुठीका इन्चार्ज नीलराज काफ्लेले चोरको खोजी भइरहेको र प्रहरीले राति गस्ती गरिरहेको बताएका छन्।