प्रस, वीरगंज, २१ भदौ/
    नारायणी अस्पताल पिसिआर प्रयोगशालामा शनिवार भएको ५१० स्वाब नमूना परीक्षणमा ५ महिलासहित २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमा पर्साका २४ र बाराका २ जना छन्।
    अबेर राति सार्वजनिक भएको नतीजा अनुसार १६ देखि ६४ वर्ष उमेर समूहका २६ जनामध्ये २४ सिटी भ्यालुभन्दा माथि ३ जना र सोभन्दा मुनि २३ जना रहेको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए।
    पर्साका २४ जनामध्ये वीरगंजका विभिन्न वडाका २२ जना रहेका छन्। बाँकी २ जना पर्साको कालिकामाई गापा वडा नं ४ का ५३ वर्षीय पुरुष र जगरनाथपुर गापा वडा नं ५ की १६ वर्षीया किशोरी रहेका छन्। वीरगंजका २२ जनामध्ये सशस्त्र प्रहरी बेस क्याम्प कृषि औजारका २ जना र नबिल बैंक वीरगंज आदर्शनगरका ५ जना कर्मचारी रहेका छन्। बाँकी १७ जना वीरगंजका विभिन्न वडाका सङ्क्रमित रहेका छन्।
    पछिल्लो समय वीरगंजको नबिल बैंक कोरोनाको केन्द्र बन्दै गएको छ। हालसम्म १५ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ। सो बैंकको पावरहाउस शाखामा ११ जना कर्मचारीमध्ये ९ जनामा र अलखियारोडस्थित मुख्य शाखा कार्यालयका ६ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here