प्रस, परवानीपुर, १० भदौ/
वीरगंजमा भदौ ९ गते मङ्गलवारका दिन चारजना सङ्क्रमितको मृत्यु भएको छ। उपचारको क्रममा कोभिड अस्पतालमैं उनीहरूको मृत्यु भएको हो। बिहान ६ देखि १० बजेको बीचमा गण्डक कोभिड अस्पतालमा दुर्ईजनाको मृत्यु भएको थियो भने मङ्गलवार राति ८ देखि ११ बजेको बीचमा वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा थप दुईजनाको मृत्यु भएको थियो। मृतक चारजना सङ्क्रमित बारा जिल्लाका हुन्। अब बारामा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।
नारायणी अस्पताल वीरगंजका प्रवक्ता डा अतुलेश चौरसियाका अनुसार वीरगंज हेल्थकेयरमा राति ८ बजेर ५ मिनेटमा बाराको कलैया वडा नं १ का ६६ वर्षीय पुरुष र सोही अस्पतालमा राति पौने ११ बजे बारा, विश्रामपुर–१ छातवाका ४२ वर्षीय पुरुषको गरी दुर्ईजनाको मृत्यु भएको जानकारी गराए। कलैयाका सङ्क्रमित भदौ २ गते कोरोना पोजेटिभ भएर अस्पताल भर्ना भएको ७ दिनपछि मृत्यु भएको हो भने विश्रामपुरका सङ्क्रमित मङ्गलवार दिउँसो वीरगंज हेल्थकेयरमा भर्ना भएका थिए। कलैयाका सङ्क्रमित दुवैजनालाई निमोनिया तथा श्वासप्रश्वास एवं ज्वरोको समस्या थियो भने विश्रामपुरका सङ्क्रमितले मृगौला प्रत्यारोपण गराएका थिए। उनमा पनि श्वासप्रश्वासको समस्या रहेको नारायणी अस्पतालका प्रवक्ता डा चौरसियाले बताए।
त्यसैगरी, गण्डक कोभिड अस्पतालमा मृत्यु हुनेमा महागढीमाई नगरपालिका–४ दहियारटोल बस्ने ५९ वर्षीय र स्वर्ण गाउँँपालिका–४ परशुरामपुरका ७२ वर्षीय पुरुष रहेका छन्। गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिंहका अनुसार एकजनाको बिहान ६ बजे र अर्कोको बिहान ११ बजे आइसियूमा उपचारको क्रममा मृत्यु भएको थियो। ६ गते कोरोना सङ्क्रमण पुष्टि भएका ७२ वर्षीय वृद्ध घरमैं आइसोलेशनमा रहेको अवस्थामा अचानक स्वास्थ्य अवस्था बिग्रेपछि सोमवार गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो। त्यस्तै, भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भएका महागढीमाई नगरपालिकाका पुरुष भदौ ५ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए। दुवै सङ्क्रमितमा निमोनिया देखिएको थियो।
चिकित्सकहरूका अनुसार अधिकांश सङ्क्रमितहरूको मृत्यु निमोनिया र श्वासप्रश्वासमा उत्पन्न समस्याले भइरहेको बताएका छन्। योसँगै वीरगंजका विभिन्न अस्पतालमा उपचारको क्रममा पर्सा, बारा, रौतहटका गरी ४३ जनाको मृत्यु भइसकेको छ। जसमा पर्साका ३१, बाराका १० र रौतहटका २ जना रहेका छन्।