रोगमा, शोकमा, भोकमा मानवीय भावना उच्चतम अवस्थामा विद्यमान हुन्छ। यो शास्त्रोक्त वचन हो। तर आज हाम्रो समुदाय यस उच्चतम भावनाबाट च्युत भएको छ। आज कोभिड रोगको प्रकोपले विश्व आक्रान्त छ। सर्वत्र, के सरकार, के नागरिक सदाशयतापूर्ण देखिएको छ। तर हाम्रो समाजमा सरकार कुर्सीको खेलको अन्धो मानिस बनेको छ भने नागरिक समाज भावनाशून्य बनेको छ। आज रोगीको उपचार अस्पतालहरूले गरिरहेका छैनन्। जुन पनि रोगीलाई कोभिड रोग लागेको देख्ने पहेंलपुरे आँखा भएका केही अस्पतालका सञ्चालकहरूको द्रव्यपिशाच प्रवृत्ति यतिबेला उत्कर्षमा पुगेको छ। देशभरि नै आफ्नो अस्पतालको सञ्जाल बनाउने सपना देख्ने वीरगंजकै एउटा अस्पतालको अहिलेको बेला रोगीहरूप्रति असहिष्णु व्यवहार देख्दा मानिस यतिसम्म निर्घृणी हुन सक्छ ? उदेक लागेर आउँछ। हो, अहिलेको बेला अति संवेदनशील छ। कोभिड सङ्क्रमितको सम्पर्कमा आउने जो कोहीलाई यो रोगले छुन सक्छ। एउटा अस्पताल सञ्चालक र सबैभन्दा पहिले त्यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी यो जोखिममा पर्न सक्छ। यस कुरामा कुनै सन्देह छैन।
तर आजको युगमा सबैले आआफ्नो पेशा रोजेको हुन्छ। एउटा सैनिकले जीवनभरि जागीर खाएर युद्धको बेला लड्दिनँ भन्न पाउँदैन। त्यसैगरी, उपचार पेशा अँगालेको व्यक्तिले, उपचारसेवा सञ्चालन गरेर अकूत सम्पत्ति कमाएको व्यक्तिले कुनै रोगीको उपचार गर्दिनँ भन्न पाउँदैन। यस्तोलाई राज्यले, राज्यको जिम्मेदार निकायले सजायको भागीदार बनाउनुपर्छ। हामीले बितेका दिनमा यस्ता थुप्रै आपत्हरू देखेका छौं, जहाँ सरोकार नभएको निकायले समेत सक्दो सहयोग जुटाएको छ। बढी–पहिरोमा सैनिक, अति उग्र आन्दोलन होस् वा कस्तै अप्ठ्यारो र असामान्य परिस्थितिमा पत्रकार, दङ्गा–फसादको बेला प्रहरी, के ज्यान जोखिममा पर्छ भनेर आफ्नो कर्तव्यबाट पछि हटेको छ ? के यति उदाहरण पर्याप्त छैन कि रोग, शोक, भोकमा मानिसले मानिसलाई भरथेग गर्दछ ? चिकित्सकलाई रोग सर्छ भन्ने सम्भावनाको कुरै छाडौं, स्पष्टतः सङ्क्रमित व्यक्तिको उपचारमा के चिकित्सकहरू संलग्न छैनन् ? के केही अस्पतालले सबै लाभ त्यागेर यस महामारीका बेला आफ्नो अस्पताल राज्यको जिम्मा लगाएका छैनन् ?
आज समाजमा कोही कसूरदार देखिएको छ भने त्यो हो राज्य र अस्पताल। सरकारले शुरूमैं नागरिक अस्पताललाई कोभिड अस्पताल बनाइदिएपछि आज उपचार नपाएर जनताको बिल्लिबाँठ भइरहेको छ। निजी अस्पतालहरूले उपचार नगरिदिंदा जवान मानिससमेत मरिरहेका छन्। यी मर्नेहरू कोभिड सङ्क्रमित भइदिएको भए, एउटा कुरा थियो, निजी अस्पतालहरूले अन्य रोगबाट ग्रस्त मानिसको पनि उपचार नगरिदिंदा अकाल मृत्यु भएको छ। यस्ताहरूलाई ज्यानमारा भन्न के आपत्ति ? सद्दे अवस्थामा लकडाउन लगाएर नागरिकको ढाड सेक्ने प्रशासन यस्ता अस्पतालहरूको पक्ष्Fपोषण गर्दैछ। नागरिकमाथि लाठो बर्साउने र धनी अस्पतालका सञ्चालकको हकमा आदेश टेरेन भनेर दाँत ङिच्याउने ? स्वार्थी सरकार, अक्षम प्रशासन र लोभी अस्पताल भएपछि उपचारको अभावमा पर्सेली जनता घिटीघिटी गरिरहेको छ। राज्य यसैगरी लाछी बन्यो भने नागरिक समाज उठ्नेछ र त्यस्ताको अस्तित्व नाश गरिदिनेछ।