राधेश्याम पटेल, वीरगंज, १५ फागुन/
वीरगंज भन्सार नाकाबाट चालू आवको सात महीनामा व्यापारघाटा पौने ९ प्रतिशतले घटेको छ। एकातिर सरकारको आयातमा कमी ल्याउने नीति कारगर साबित हुँदै गएको छ भने नेपालबाट भारत तथा तेस्रो मुलुकमा मालवस्तुको निकासी बढ्दा व्यापारघाटा न्यून गर्न मदत मिलेको भन्सार अधिकारीको विश्लेषण छ। वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार गत आव २०७६/०७७ मा २ खर्ब ५७ अर्ब ८ करोड ५८ लाख ९ हजार रुपैयाँ व्यापारघाटा वीरगंज भन्सारले बेहोरेकोमा चालू आवको पछिल्लो सात महीनामा २ खर्ब ३४ अर्ब ५८ करोड ४१ लाख ३ हजार रुपैयाँ व्यापारघाटा बेहोरेको जनाइएको छ।
चालू आवको पछिल्लो सात महीनामा आयात ७.४२ प्रतिशतले घटेको छ भने निर्यात ९.२९ प्रतिशतले बढेको पाइएको छ। गत आवको पहिलो सात महीनामा २ खर्ब ७७ अर्ब ५६ करोड ८३ लाख ७० हजार मूल्यबराबरको मालवस्तु पैठारी भएको वीरगंज भन्सार नाकाबाट सरकारले आयातमा लिएको कडा नीति र कोरोना महामारीको कारण ७.४२ प्रतिशत कम अर्थात् २ खर्ब ५६ अर्ब ९६ करोड ९५ लाख ८२ हजार मूल्यबराबरको मालसामान भित्रिएको थियो। गत आवको सात महीनामा २० अर्ब ४८ करोड २५ लाख ६१ हजार मूल्यबराबरको सामान निर्यात भएकोमा चालू आवको सोही अवधिमा २२ अर्ब ३८ करोड ५४ लाख ७९ हजारको मालसामान निर्यात हुँदा गत आवको सोही अवधिको तुलनामा चालू आवमा निर्यात ९.२९ प्रतिशतले बढेको देखिन्छ। वीरगंज नाकाबाट सोयाबिन तेल, सूर्यमुखी तेल, पिना, जमोठ कपडा, रेसाजन्य कपडा, स्पोट्र्स सुजलगायतका मालसामानको निर्यातमा वृद्धि भएको पाइएको छ। वीरगंज भन्सार नाकाबाट गत आवको सात महीनाको तुलनामा चालू आवको सोही अवधिमा मोटरसाइकल १६९ प्रतिशत, डबल क्याब पिकअप भ्यान ५२ प्रतिशत, विलेट ४४ प्रतिशत, सुर्ती ३९ प्रतिशत, पेट्रोल ३ प्रतिशत, एलपिजी २ प्रतिशत र डिजेल १ प्रतिशतले आयातमा कमी आएको देखिएको छ।
त्यसैगरी, वीरगंज भन्सार नाकाबाट पछिल्लो सात महीनामा गत आवको सोही अवधिको तुलनामा विदेशी व्यापारमा ६.२७ प्रतिशतले कमी आएको छ। गत आवको सात महीनामा वैदेशिक व्यापार २ खर्ब ९८ अर्ब ५ करोड ९ लाख ३१ हजार मूल्यबराबरको भएको थियो भने चालू आवको सोही अवधिमा जम्मा २ खर्ब ७९ अर्ब ३५ करोड ५० लाख ६१ हजारको भएको छ। त्यसैगरी, गत आवको सात महीनामा आयात/निर्यात अनुपात १३.५५ प्रतिशत थियो भने चालू आवको सात महीनामा आयात/निर्यात १५.२९ प्रतिशतले घटेर ११.४८ प्रतिशतमा झरेको छ।
कुल व्यापारमा आयातको साझेदारी गत आवमा ९३.१३ प्रतिशत थियो भने यस आवको सात महीनामा १.२३ प्रतिशतले घटेर ९१.९९ प्रतिशतमा सीमित भएको छ भने कुल व्यापारमा निर्यातको साझेदारी गत आवमा ६.८७ प्रतिशत थियो भने १६.६ प्रतिशतले बढेर ८.०१ प्रतिशतमा पुगेको छ। वीरगंज भन्सारले चालू आवमा रु १ अर्ब ७२ अर्ब ७९ करोड ८१ लाख ७५ हजार राजस्व लक्ष्य लिएकोमा माघसम्म रु ८८ अर्ब ५० करोड ४८ लाख ७७ हजार राजस्व असुली गरेको छ।