प्रस, सेढवा ११ फागुन/
हुलाकी सडक निर्माण कार्यमा ढिलाइ हुँदा तथा नदीजन्य पदार्थ ढुवानीका कारण ग्रामीण सडकखण्ड जीर्ण हुनुको साथसाथै धूलाम्य भएको छ।
वीरगंज, पावरहाउसदेखि जीराभवानी गाउँपालिकाको चमरीटोलसम्म हुलाकी सडक निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्शनले नदीजन्य पदार्थ ढुवानी गर्न प्रयोग गरेको टिपर तथा ट्याक्टरका कारण जनता र थरूहट सडकखण्ड जीर्ण र धूलाम्य भएको छ।
पटेर्वासुगौली, सखुवापरसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिकाका विभिन्न खोला तथा सो क्ष्Fेत्रमा भण्डारण गरिएका बालुवा, गिट्टी ओभरलोड गरेर दैनिक दर्जनौं टिपर र ट्याक्टरमा सडकखण्ड भएर जाने गरेका कारण सडक जीर्ण भएको छ।
थरूहट सडकखण्ड अन्तर्गत जीराभवानी गाउँपालिका–३ को सहजानपुरदेखि वडा नं ५ को भलुवाही खोलासम्मको सडकखण्डको अवस्था नाजुक भएको छ।
त्यस्तै थरूहट सडकखण्ड र जनता सडकखण्ड अन्तर्गतको पटेर्वासुगौली गाउँँपालिकाको भलुवही खोलादेखि रङ्गपुरसम्मको सडक बिग्रेको छ। सो ठाउँका सडकहरूमा चार फिटसम्म खाल्टो भएको र एक फिट बाक्लो धूलो जमेको छ। जसले गर्दा बाटो हिंड्ने बटुवा, मोटरसाइकल र अन्य सवारीसाधन गुडाउन कठिनाइ भएको छ।
सखुवापरसौनी गाउँँपालिका रहेका दीपनारायण आदर्श नमूना माध्यमिक विद्यालय औराहा पचगाँवामा कार्यरत शिक्षक आनन्दमय भैया थारूले सो बाटो भएर दैनिक आउनजान निकै समस्या भएको बताए।
कतिपय स्थानमा मोटरसाइकल दुर्घटनासमेत हुने गरेको शिक्षक थारूले बताए। बाटो धूलाम्य भएका कारण यी सडकखण्डमा पर्ने सहजानपुर, कोढौली सढ्ढी, पटेर्वा, रामपुर, बैजनाथपुर, रङ्गपुरलगायत गाउँका सर्वसाधारणले निकै कठिनाई भोग्नुपरेका गुनासो गरेका छन्। बाटोमा उडेको धूलोका कारण घरमा बस्न, खाना पकाउनसमेत समस्या भएको स्थानीयवासीले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here