प्रस, निजगढ, १२ फागुन/
निजगढमा जारी तेस्रो निजगढ मेयर कप फूटबल प्रतियोगिताको रिजर्भ डेमा बुधवार रौतहट र सर्लाहीका महिला टीमबीच भएको मैत्रीपूर्ण प्रतिस्पर्धात्मक खेलमा ० का विरुद्ध १ गोल गरी रौतहट विजयी भएको छ।खेलको सुरुआतबाट नै सर्लाही टीमलाई निरन्तर दबाबमा राख्दै आएको रौतटह टीमका खेलाडीले गोल गर्न पटक–पटक गरेको प्रयास असफल भएको थियो। सर्लाही टीमका गोलरक्षक सपना राईले विपक्षी रौतहट टीमले गरेको प्रहारलाई असफल बनाउने प्रयास गर्दागर्दै पनि खेलको ५८औं मिनेटमा गोल रोक्न नसक्दा टीमले हार स्वीर्कानुप–यो।
रौतहट महिला टीमकी कप्तान रोजिना श्रेष्ठले गरेको गोल नै निर्णायक हुन पुगेको हो। रोजिनाले साइडबाट पास निकालेको एक दर्जन बललाई आफ्नै टीमका खेलाडीले गोल गर्न सकेका थिएनन्। अन्ततः उनले आफैं प्रहार गरेको एक गोलमा जीत हात लाग्यो।
खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेबापत सर्लाही टीमका गोलरक्षक राई म्यान अफ दि म्याच घोषित भइन्। उनलाई स्थानीय मुन्ना बुढाथोकीले ट्रफी प्रदान गरेकी थिइन्। तेस्रो निजगढ मेयर कप फूटबल प्रतियोगिताको आयोजक निजगढ फूटबल क्लबको निमन्त्रणमा भएको खेलमा उपविजेता सर्लाही महिला फूटबल टीमलाई इच्छा इम्पेक्स निजगढका सञ्चालक उत्सव श्रेष्ठले नगद ५ हजार पुरस्कार प्रदान गरे भने विजेता रौतहट महिला फूटबल टीमलाई कान्तिपुर पोल्ट्री ब्रिडिङ फर्मका तर्फबाट निजगढका प्रतिनिधि अभिषेक शर्माले १० हजार नगद पुरस्कार प्रदान गरे।
जारी मेयर कपको फाइनल खेल शहीद हीरालाल रङ्गशालामा यही फागुन १६ गते निजगढ युवा क्लब ‘ए’ र योङ्गस्टार युवा क्लबबीच हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here