प्रस, परवानीपुर, १२ फागुन/
वीरगंजको पावरहाउसस्थित नेपाल विद्युत् प्राधिरण वीरगंज वितरण केन्द्रले प्रभावकारी सेवा नदिएको उपभोक्ताहरूले गुनासो गरेका छन्।
वीरगंज–२१ ताजपुर बस्ने अनोज गुप्ताले आफूले प्रभावकारी सेवा नपाएको र उल्टै विद्युत् महसूलमा हजारौं जरिवाना थप्दै वितरण केन्द्रले महसूल असुलिरहेको गुनासो गरे। सात वर्षअघि मिटरमा भएको गडबडीको कारण उनी सेवा बन्द गर्न र मिटर खोल्न रु ५ सयको रसीद कटाएर निवेदन दिएका थिए। तर सो निवेदनउपर कार्यालयले सुनवाइ नगर्दा आज उनलाई रु ५३ हजारको बिल भुक्तानी गर्नुपर्ने अवस्था आएको गुप्ताको भनाइ छ।उनले भने– “सात वर्षअघि मिटरको बारेमा निवेदन दिएको थिएँ, कारबाई अगाडि बढाइएन, फेरि आएर मिटर खोल्न भन्दा रसीद कटाएर निवेदन दिनुस् भनिएको छ। तर यसपालि पनि कुनै कारबाई हुन्छ कि भनेर शङ्का छ।” उनले कार्यालयको लापरवाहीको कारण मासिकरूपमा मेरो भुक्तानी गर्नुपर्ने बिल बढ्दै गएको र यस विषयमा मलाई आर्थिक मर्का परेको उनले आरोप लगाए।
यस विषयमा वितरण केन्द्रका कर्मचारीहरूले सात वर्षअघिका हाकिम साहब र कर्मचारीको लापरवाहीको कारण गलती भएको स्वीकार गर्दै यसपालि उनको निवेदन उपर कारबाई गर्ने आश्वासन दिएका थिए