प्रस, वीरगंज, ९ फागुन/
झापा, भद्रपुर नगरपालिका घर भई हाल वीरगंज–१० बस्ने मिटर ब्याजीको रूपमा चर्चित मुरलीमनोहर मित्रुका र उनका भाइ मदनमोहन मित्रुकाले दर्जनौं व्यक्तिलाई झुक्याएर ठगेको आरोप छ।
नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा आइतवार आयोजित पत्रकार सम्मेलनमा भूपू प्रहरी निरीक्षक एमडी सहाबुद्दीन अन्सारीलगायतले मित्रुकाद्वयले कम रकम दिएर तेब्बर कपाली तमसुक बनाइ लाखौं मूल्यको जग्गा दृष्टिबन्धक बनाएको आरोप लगाए। सामान्य खर्चको लागि लिएको रकम र त्यसमा भएको सहमति अनुसार ब्याज दिंदादिंदै पनि मित्रुकाद्वयले बलजफ्ती दर्जनौं व्यक्तिमाथि मुद्दा लगाएर जमीन कब्जा गरेको अन्सारीले गुनासो गरे। दर्जनौं व्यक्तिको जमीन तथा घर लीलाम गराइ मित्रुकाद्वयले आफूहरूलाई बिल्लबाठ बनाएको उनको भनाइ थियो।
अन्सारीका अनुसार मित्रुकाद्वयमध्ये मुरलीमनोहरले वीरगंज महानगर–१२ का नूर देवान, जयनुर नेसा देवानी, वीमनपा–२४ का छोटेलालप्रसाद कुर्मी, वडा नं १३ का महम्मद जाबिर अन्सारी, सखुवाप्रसौनी गाउँपालिका–६ का श्रीराम यादव, मन्जुर आलम, वीरेन्द्र गिरी, बाराको महागढीमाई नगरपालिका–१२ का रोशन खातुन, पोखरिया नगरपालिका–५ का शशिभूषण तिवारी गरी ११ जनाविरुद्ध जिल्ला अदालत पर्सामा लेनदेन तथा चेक अनादर मुद्दा दर्ता गराएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
अधिकतम रकम रु २ लाखदेखि ३ लाख लिएको तर कपाली तमसुक र दृष्टिबन्धक गराइ ५० लाख मूल्यको सम्पत्ति लीलाम गराएको उनले आरोप लगाए। पत्रकार सम्मेलनमा लक्ष्मणवाका भोला यादवले लेनदेनको भरमा तीनजनाको सम्पत्ति लीलाम भइसकेको बताए। यादव मुरलीमनोहरले सञ्चालन गरेको गोकुल आइसक्रिममा कार्यरत थिए। उद्योग बिक्री गर्ने क्रममा मुरलीमनोहरले बैंकबाट ऋण पास गराइ दिने आश्वासनमा आइसक्रिम उद्योग आफूसमेत अन्य कामदार नवीन देवान, शिवराम यादवको जिम्मा लगाएको यादवले बताए।
पछि उनले बैंकबाट ऋण दिलाउन नसकेको र आइसक्रिम उद्योग अन्यत्र सार्न भनेर आफूहरूसँग रु १५ लाख माग गरेको बताए। पछि तीनजनासँग छुट्टाछुट्टै रु ५/५ लाखको कागज गरेको र आफूहरू बसेको घर दृष्टिबन्धक गराइ लीलाम गराइदिएको आरोप लगाए।
आफूहरू दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्दै आएकोमा मुरलीमनोहरले ठगेको आरोप लगाए। पत्रकार सम्मेलनमा सहभागीहरूले न्यायको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा उजूरी दिएको जानकारी गराए। पत्रकार सम्मेलनमा अन्सारीले रु १३ लाख ऋण लिएको तर २६ लाखको कपाली तमसुक बनाएको बताए। मुरलीमनोहरले आफ्नो नाममा रु २६ लाखको कपाली तमसुक र रु २५ लाखमा डेढ करोड पर्ने जग्गा दृष्टिबन्धक गराइ मुद्दा लगाएपछि समस्यामा परेको बताए।
जिल्ला प्रशासन कार्यालय, पर्साले उजूरी सम्बन्धमा मित्रुकाद्वयलाई कार्यालयमा झिकाएर तारिखमा राखेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। तारिखमा रहेका मित्रुकाद्वयसँग आवश्यक कागजात प्रमाण जुटाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए।