प्रस, वीरगंज, ८ फगुन/
पूर्वसांसद प्रदीप यादवको संसदीय कोष तथा वीरगंज महानगरपालिकाको संयुक्त लगानीमा वीरगंजको घण्टाघरमा नवनिर्मित शहीद स्मारकको अनावरण कार्यक्रम शनिवार सम्पन्न भएको छ।
कार्यक्रममा सांसद प्रदीप यादवले संविधानमा त्रुटि रहेकोले प्रतिगमन भएको बताए। संविधान जारी भएदेखि मधेसी दलहरूले त्रुटिपूर्ण संविधानलाई पुनर्लेखन वा परिमार्जन गर्नुपर्ने माग राख्दै आएको बताए। प्रतिगमनको कारण देशमा राजनीतिक तथा संवैधानिक सङ्कट आएकोले सर्वोच्च अदालतले त्यसलाई नसच्याए देशमा सङ्कटकालसमेत लाग्न सक्ने उनले जिकिर गरे। उनले देश र जनताको लागि आफ्नो ज्यान गुमाएका शहीद कसैको निजी हुन सक्दैन साझा हुने बताए।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले शहीदहरूले दिएको बलिदानीको फलस्वरूप देशमा सङ्घीय गणतन्त्र आएको र सोही व्यवस्था अन्तर्गत आफूलगायत सम्पूर्ण स्थानीय तहमा जनप्रतिनिधिहरू निर्वाचित भएको बताए। शहीदको बलिदानीले देशमा ठूलो परिवर्तन आएको र शहीदहरूको परिवार व्यवस्थापनको लागि महानगरले चारजनालाई रोजगार दिनुका साथै शहीद परिवारलाई अन्य सहयोग गर्दै आएको बताए।
शहीदहरूको सम्मानस्वरूप नै शहीद स्मारक बनेको र चाँडै विपी उद्यानको जग्गामा मधेसका सबै शहीद अट्ने गरी ठूलो शहीद पार्कको योजना अनुसार महानगर अगाडि बढेको बताए।
घण्टाघरमा नवनिर्मित शहीद स्मारकमा शहीद सोहनसाह कलवार, दिलीप चौरसिया, धर्मराजसिंह राजपुत, देवप्रकाश साह, आशीष राम, दिनानाथ साह, सतेन्द्र पटेलको शालिक राखिएको छ।
जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद प्रह्लाद गिरी, जन्नत अन्सारी, सिंहासनसाह कलवार, करिमा बेगम, जिल्ला समन्वय समितिका सभापति नेकमहम्मद अन्सारीलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण जिल्ला सचिव तबरेज अहमदले गरेका थिए।
Home समाचार प्रमुख समाचार घण्टाघरमा नवनिर्मित शहीद स्मारकको अनावरण, संवैधानिक त्रुटिका कारण प्रतिगमन भयो –सांसद यादव